• शुक्रबार-बैशाख-२६-२०८२

आँप टिपेको विषयमा वि वाद, थप्पडको बदला ह त्या !

 

रौतहट । रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ । आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ ।

 

जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ ।

 

घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ ।

 

मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । आरोपी दुवै जना मिलेर इशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

 

डीएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैंचामा दशईले पछाडिबाट अनुहार-टाउकोमा रड प्रहार गरेको र उनी भुइँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 

घटनाको एक दिनअघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई दुई-चार थप्पड हानेका थिए । सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

 

आरोपी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस