जन्मिँदै मानिस स्वतन्त्र हुने भएकाले मानिसका आधारभूत नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रता र अधिकारको सबैले सम्मान गर्नुपर्दछ । मानिसको सम्मान (डिग्निटी)मा प्रत्यक्ष चोट पुग्नेगरी अभिव्यक्ति दिने अधिकार अर्काेलाई हुँदैन । प्रmान्सेली दार्शनिक जिन ज्याक रुसोले ‘मानिस स्वतन्त्र जन्मेका हुन्छन्’ भने । कानुनको आधारभूत मान्यताले व्यक्तिले कानुनले निषेध गरेदेखिबाहेकका सबै कार्य गर्न सक्दछ भन्ने मान्दछ । संविधान, कानुन, सर्वस्वीकार्य प्रथा र सार्वजनिक नैतिकताले नरोक्ने कार्य सबैले गर्न पाउँदछन् ।
मानिस जन्मजात सामाजिक र राजनीतिक प्राणी हुन् । मानिसले कुनै राजनीतिक विचार, पार्टी वा संगठनमा लाग्नु वा नलाग्नु व्यक्तिको चाहना, रुची र आवश्यकताको विषय हो । राजनीतिक विचार र पार्टीमा नलाग्दा पनि राजनीति र सार्वजनिक जीवनबाट मानिस टाढा हुन सक्दैन । दलमा नभएको मान्छे पनि राजनीतिमा हुनसक्दछ । सार्वजनिक चासो र चर्चामा हुन्छ । दार्शनिक प्लेटोले मानिसलाई ‘पोलिटिकल एनिमल’ भने । राजनीतिको कुनै न कुनै विचार, दर्शन र सार्वजनिक नीतिबाट मानिस प्रेरित हुनसक्छ ।
तसर्थ मानिस, नागरिक र व्यक्तिले राजनीति र सामाजिक जीवनमा लाग्न पाउने व्यक्तिको जन्मसिद्ध अधिकार हो । त्यस्तो अधिकार सबैलाई हुने भएपनि कतिपय अवस्थामा कतिपय सार्वजनिक र सरकारी भूमिकामा भएका मान्छेलाई राजनीतिक दल वा पुनः सार्वजनिक र सरकारी भूमिकालाई कानुनी हिसाबले राकेको हुन्छ । नेपालमा अहिले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलको जिम्मेवारीमा आउने कुरा सार्वजनिक चर्चा तथा बहसमा आउने गरेका छन् । पूर्वउपराष्ट्रपति पुन माओवादीको बैठकमा सहभागी भइसके । तथापि त्यसको पनि पक्ष÷विपक्षमा तर्क आए ।
केले छेक्छ ?
मुलकको राष्ट्रपति भईसकेका व्यक्तिलाई फेरि राजनीति र दलीय भूमिकामा आउने अधिकार छ कि छैन ? संवैधानिक, कानुनी कुराले छेक्छ कि छेक्दैन ? यो प्रश्न सार्वजनिक मञ्चमा उठने गरेको छ । यो प्रश्नै उठाउन नसकिने सवालचाहिँ होइन । लोकतन्त्र भनेको प्रश्न गर्न पाउने प्रणाली पनि हो । अब पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नेपालको संविधान कानुनले छेकेको छ कि छैन ? मूल सवाल यो हो । संविधान कानुन यो विषयमा मौन रह्यो । बोलेन । खुला छोडिदियो । संविधानले त्यो विषय कानुनी प्रश्न गर्न सक्ने क्षेत्र र दायरामा राखेन । सामाजिक र सार्वजनिक नैतिकताको क्षेत्रमा लगेर छोडिदियो । यसर्थ त्यो क्षेत्रमा केकस्तो कार्य र निर्णय गर्ने भन्ने कुरा व्यक्ति स्वयम्को रुचीको विषय भयो । कानुनले नरोक्ने सबै काम व्यक्तिले गर्न पाउने प्रस्टै छ । यद्यपि मुलुकको राष्ट्रपति भईसकेको मान्छे स्वयम्ले आफूले गर्ने कार्यका बारेमा सोच्ने कुरा प¥यो । मानिसहरूले टिप्पणी गर्नु अस्वभाविक भने होइन । गर्न सक्दछन् । पूर्वराष्ट्रपतिको पदीय हैसियत आफैँमा सार्वजनिक बहस गर्न मिल्ने पद नै हो । बौद्धिक र तार्किक आलोचना पनि गर्न मिल्छ ।
यहीकारण चर्चाको पक्ष÷विपक्षमा तर्क गरिएका हुन् । राष्ट्रपतिलाई कानुनले राजनीतिमा आउनै नपाउने गरी छेकेको छैन । कानुनले नरोक्ने कार्य गर्न पाउने अधिकार सबैलाई हुने भएकाले उहाँको इच्छा, चाहना, रुची र आवश्यकता भएको खण्डमा राजनीतिमा र एमालेमा आउन नमिल्ने भन्ने होइन । नेपालमा राष्ट्रपतिको प्रबन्ध र अभ्यास भर्खरभर्खर भएकाले यसमा बढी चासो भएको हो । विश्वमा हेर्ने हो भने अनेक खालका कानुनी, संवैधानिक र व्यवहारिक अभ्यास रहेको पाइन्छ ।
विश्वको अनुभव
भूराजनीतिमा लोकतान्त्रिक र प्रजातान्त्रिक मुलुकहरूले अपनाएका असल अभ्यासहरूको अनुशरण गर्ने वा प्र्रयोगमा ल्याउने गरिएका छन् । कतिपय मुलुकमा संविधान र कानुनले नै मुलुकको प्रमुख कार्यकारी वा राष्ट्रपतिलाई प्रत्यक्ष राजनीतिमा आउन रोकेको पनि देखिन्छ । कतिपयमा संविधान कानुन मौन रहेको पाइन्छ । नेपालको संविधान पनि यस विषयमा मौन रह्यो । अमेरिकी राष्ट्रपति भइसकेका पूर्वराष्ट्रपतिहरू प्रत्यक्षतः दलको पदमा रहेको देखिँदैन । यद्यपि दलका सार्वजनिक कार्यक्रमहरूमा गएर भाषण गर्ने, प्रतिनिधि बन्ने, सहभागी हुने र राजनीतिमा सक्रिय भएका देखिन्छन् । सन् २०२४ मा भएको अमेरिकी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पूर्वराष्ट्रिपतिहरूको सक्रिय सहभागिता थियो ।
सन् २००८ देखि सन् २०१६ सम्म राष्ट्रपति रहेका पूर्वराष्ट्रपति बाराक ओवामा डेमोक्रेटिक पार्टीका सबैजसो ठूला कार्यक्रमहरूमा सहभागी हुँदैआएका छन् । पूर्वराष्ट्रपति ओबामा अदालतमा कानुनको वकालत र विश्वविद्यालयको प्राध्यापनमा पनि देखिए । बिल ल्किन्टन, बुस आदिको पनि राजनीतिमा सक्रियता देखिन्छ । यद्यपि पार्टीको औपचारिक पदमा चाहिँ रहेको देखिँदैन । सन् २००० पछि सत्तामा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रधानमन्त्री पदमा फर्के । फेरि राष्ट्रपति भए । भारतीय राजनीतिमा पूर्वराष्ट्रपति फेरि दलीय राजनीतिक भूमिकामा आएको देखिँदैन । चीनमा पूर्वराष्ट्रपति दलको दलीय भूमिका नभएपनि पार्टीका प्रमुख कार्यक्रमहरूमा चाहिँ सहभागी बन्ने गरेका छन् । बेलायतमा कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री सरकारी पद सकिएपछि राजनीतिक, सामाजिक र व्यापारिक क्षेत्रमा जान स्वतन्त्र हुन्छ ।
प्रधानमन्त्री ऋषि सुनाक पदबाट हटेपछि आफ्नो व्यापारिक तथा पार्टी राजनीतिको क्षेत्रमा छन् । नेपाली राजनीतिमा अहिले आएका अनेकौँ बहसमध्येमा पूर्वराष्ट्रपति एमालेको राजनीतिमा आउने कि नआउने ? पार्टी राजनीतिका आउन पाउने कि नपाउने ? एमालेका आएमा उनले कुन भूमिका पाउने ? यस्ता सवाल सतहमा आए । राजनीतिक, सामाजिक र सार्वजनिक विषयमा सबैलाई आ–आफ्ना विचार तथा धारणा राख्न पाउनको लागि हामीले लोकतान्त्रिक गणतन्त्र लाउनु प¥यो ।
पूर्वराष्ट्रपति विद्या भण्डारी आफैँले उहाँको स्वविवेकले जान्ने र सोच्ने विषय हो यो । कस्तो राजनीतिक, सामाजिक र सांस्कृतिक अभ्यास गर्ने भन्ने कुरा सार्वजनिक पदमा बसिसकेको मान्छे आफैँले जान्ने र सोच्ने कुरा भयो । राजनीतिमा आउनै नसक्ने भन्ने केही पनि छैन ।
संविधान र कानुनले निषेध नगरेकोले कार्य गर्न कसैले छेक्न सक्दैन । सार्वजनिक नैतिकताको कुरा व्यक्ति आफैँले जान्ने कुरा हो । राजनीतिमा पूर्वराष्ट्रपति आउने वित्तिकै सबै बर्बाद हुने केही पनि होइन । आए चमत्कार हुने पनि होइन । आउनैपर्ने बाध्यता पनि छैन । माथि नै भनियो–मानिस जन्मँदै राजनीतिक र सामाजिक प्राणी भएकाले पार्टीको राजनीतिमा नआएपनि पूर्वराष्ट्रपतिको दलीय पक्षधरता, झुकाव र समर्थन हुन नसक्ने भन्ने रहेन ।
एमालेको विषय
एमाले पार्टी लोकतन्त्र र विधिमा विस्वास गर्दछ । नेपालमा जनताको बहुदलीय जनवादी सिद्धान्तमा चलेको दल एमाले हो । विधान र विधिमा चलेको छ । पार्टीको केन्द्रीय कमिटी छ । पार्टीको आफ्नो सिद्धान्त, दर्शन, अभ्यास, मूल्य र मान्यता रहेको छँदैछ । यस्तोमा पूर्वराष्ट्रपति एमालेमा आउने वा नआउने र पार्टीमा आएमा केकस्तो भूमिका केकसरी दिने भन्ने निर्णय गर्न एमाले सक्षम छ । तसर्थ पार्टी राजनीतिमा जाने कुरा पूर्वराष्ट्रपतिको चाहना, इच्छा र एमालेको आवश्यकताको कुरा समेत भएकाले अन्य दल वा पक्षले यसैलाई मात्र चासो दिएर निरन्तर विरोध गर्नुको औचित्य देखिँदैन । एमालेको निर्माणमा स्व. मदन कुमार भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको योगदान रहेको कुरा घाँमजस्तै छर्लङ्ग भएको कुरा हो । यसर्थ समय, आवश्यकता र परिस्थितिले माग ग¥यो भने पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन सक्नुहुन्छ । मिल्छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५ं)
प्रतिकृया दिनुहोस