२०१७ साल पुस १ गतेको राजा महेन्द्रले सेनाको बलमा रोयल टेकओभर गरी संसदीय प्रजातन्त्र समाप्त गरेको घटनाको अघि र पछिका ७० (सत्तरी) वर्षहरुमा अमेरिकाको राइट अफ इन्फरमेशन एक्टअन्तर्गत कयौं कुराहरु डिक्लासिफाइड भएका छन् । साथै अनेकौं पुस्तक, डकुमेन्ट्री, फिल्महरु, पत्रकारहरुका लेखहरु, स्वयं सीआईएका नेपालमा काम गरेका सेक्रेट एजेन्टहरुको संस्मरण विवरणहरु प्रकाशित छन् । साथै विकिपेडिया, गुगल र अन्य सूचनाका स्रोत र माध्यमहरुबाट पनि उपलब्ध छन् ।
सेकेन्ड वल्र्ड वार पछिका ८० वर्षहरुमा ८१ (एकासी)वटा सत्ता र शासन उलटफेर (Regime Change by CIA) का गन्तीहरु पनि अब प्रकाशित छन् । घुमाएर र अप्रत्यक्षरुपले कसैकसैले संकेत गरेपनि नेपालको विक्रम सम्बत २०१७ सालको रोयल टेकओभरलाई अमेरिकन सीआईएले त्यससमय नेपालमा उसले चाहेको कोल्डवारको सामरिक चाहना पूरा गर्नलाई प्रोत्साहित गरेको कुरा स्पष्टरुपले देखिँदैन ।
त्यसैले हामीले २०१७ साल लगत्तै अघि र पछिका नेपालमा के के घटनाहरू भए हेर्दैजाउँ, परिबन्धमा प्रमाणहरु हेर्दै जाउँ र सँगै संक्षेपमा ती उल्लेखनीय घटनाहरूमध्ये सीआइएको साह्रै गुप्त तयारी र बन्दोबस्तका साथ दलाई लामा ल्हासाबाट भागेर भारत कसरी पुगे । कयौं हजार उनका अनुयायीहरु पनि कोही सोझै भारत र कोही नेपाल हुँदै भारत पुगे । त्यसपछि २०१७ साल वैशाखमा अमेरिकन राष्ट्रपति आइजनहावरको राजा महेन्द्रलाई अमेरिकाको राजकीय भ्रमणमा आउने निम्तो आउँछ । चार दिने स्टेट भिजिटपछि पनि राजा महेन्द्र रानीका साथ एक महिना भन्दा बढी अमेरिकाका विभिन्न ठाउँहरु साथै क्यानडा, मेक्सीको इत्यादि देशहरुको भ्रमण गर्दै त्यतै रहेको इतिहास भेटिन्छ । राजा महेन्द्रको त्यो अमेरिका भ्रमण साहै्र नै ठूलोसम्मान र तामझाम साथ गरिएको विवरण र डकुमेन्ट्री फिल्महरु अहिले पनि मजाले हेर्न सकिन्छ ।
अमेरिकन राष्ट्रपति कुनै ठूलो देशको राष्ट्राध्यक्ष वा शासन प्रमुख प्रधानमन्त्रीलाई समेत स्वागत गर्न एयरपोर्ट जाँदैनन् । तर, राष्ट्रपति आइशनहावर राजा महेन्द्रलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए । अर्को उल्लेखनीय कुरा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुलाई केवल हाउस अफ रिप्रिजेन्टेटिभ्सको मात्रै संबोधन गर्न दिएका थिए । तर, राजा महेन्द्रलाई हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेट दुबैको संयुक्त बैठकलाई सम्बोधन गर्ने अवसर प्रदान गरिएको थियो ।
अमेरिकन राष्ट्रपतिद्वारा कुनै अर्काे देशको शासकलाई राजकीय भ्रमणको निम्तो दिनु अघि बडो गुप्त सघन गृह कार्यहरु गरिएका हुन्छन् । संसारका कयौं देशका राष्ट्राध्यक्ष वा शासनाध्यक्षहरुले कहिल्यै पनि कुनै अमेरिकन राष्ट्रपतिको राजकीय भ्रमणको निम्तो नै पाएका छैनन् । बाहिर यति धेरै ठूलो सम्मानको भित्री अर्थ प्रायः एक अर्काको सामरिक स्वार्थमा साथ दिने कुराको आदान प्रदान हुन्छ ।
अर्काे उल्लेखनीय कुरा के छ भने प्रायः दस वर्ष नपुगी दुई राष्ट्राध्यक्ष वा शासन प्रमुख प्रधानमन्त्रीलाई अमेरिकामा राजकीय भ्रमण (स्टेट भिजिट)मा बोलाउने कुरा साह्रै कम गरिन्छ । तर, राजा महेन्द्रलाई आइशन हावर पछि राष्ट्रपति जोन्सनले पनि राजकीय भ्रमणको निम्तोमा बोलाएर भेटेका छन् । राष्ट्रपति जोन्सन अघिका राष्ट्रपति जोन केनेडी र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको भेटवार्ता डिक्लासिफाइड भइसकेको छ । त्यससमय भारतमा आश्रित नेपाली कांग्रेसले राजा महेन्द्रविरुद्ध सशस्त्र कारबाही गरिरहेको थियो । अमेरिकन राष्ट्रपति जोन केनेडीले जवाहरलाललाई भन्छन् कि यस्तो कारबाहीले गर्दा राजा चीनसँग मिल्ने खतरा हुन्छ ।
यसरी स्पष्ट के देखिन्छ भने अमेरिकन राष्ट्रपतिहरु राजा महेन्द्रको शासन सुरक्षित र स्थायित्व प्राप्त होस् भन्ने चाहन्थे । त्यसपछि हामी के देख्दछौं भने सन् १९६२ भारत–चीन सीमायुद्ध सुरु भएकै दिन जवाहरलाल नेहरुको सरकारले नेपाली कांग्रेसका कलकत्तामा रहनुभएका नेता सुवर्ण शमशेरलाई सँधैका लागि सशस्त्र विद्रोहको अन्त गरिएको वक्तव्य दिन लगाउँदछन् ।
राजा महेन्द्रलाई २०१७ सालको रोयल टेकओभरभन्दा केही समय अघि ब्रिटेनकी महारानी एलिजावेथको पनि बेलायतको राजकीय भ्रमणका लागि निम्तो प्राप्त भएको छ । स्वयं महारानी एलिजावेथ ब्रिटिश राजपरिवारका सदस्यहरुको साथ रेल वे स्टेशन पुगेर राजा महेन्द्रको ठूलो सम्मानपूर्ण स्वागत गरिएको थियो । तर, असली के कुराको ब्रिटिश प्रधानमन्त्रीसँग राजा महेन्द्रको गुप्त आदानप्रदान भयो त्यो अझै पनि गुप्त नै रहेको छ । तर, २०१७ साल काण्डपछि त्यसै वर्ष बेलायतकी महारानीको नेपाल भ्रमणबारे पहिले ने यसै लेखमा लेखिसकेको छु कि त्यो ब्रिटेनद्वारा राजा महेन्द्रको रोयल टेकओभरको अनुमोदनको रुपमा अन्तर्राष्ट्रिय कूटनीतिक जगतले मानेको थियो ।
२०१७ साल वैशाखमा साथै अमेरिका भएका उपप्रधानमन्त्री सुवर्ण शमशेरलाईसमेत बाहिरै राखी राष्ट्रपति आइशन हावर र राजा महेन्द्र माझ सारै गुप्त रुपमा २० मिनेट एक्लाएक्लै (वान टु वान) के के कुरा आदानप्रदान भयो त्यो पनि आजसम्म नै गोप्य छ । तर त्यसपछि सन् २०१७ साल पुस १ गतेको राजाको निर्दलीय तानाशाही शासन खडा भयो र अर्काे कुरा नेपालको भूभाग मुस्ताङमा चीन विरोधी खम्पा लडाका क्याम्पहरु खडा भए । त्यसको १२ वर्षजति पछि ३१ जनवरी १९७२ (२०२८ माघ १७ गते) चितवनको दियालो बंगलामा राजा महेन्द्रको मुटुको व्यथाले मृत्यु भयो ।
नेपालमा राजा महेन्द्रको मृत्यु र श्री ५ वीरेन्द्र राजा भएको २ दिनपछि अन्तर्राष्ट्रिय जगतको कूटनीति र कोल्ड वारमा पनि एउटा नसोचेको नयाँ आयाम देखिन्छ । अमेरिकन राष्ट्रपति निक्सन गुप्तरुपले बेइजिङ पुगेको र चीनका नेता माओले प्रशन्न मुद्रामा हात मिलाएको फोटो पिपुल्स डेलीमा २२ फरवरी १९७२ (वि.सं.२०२८ फागुन १० गते) प्रकाशित भएको छ ।
त्यसपछि हामीहरुले के देख्दछौं, पढ्दछौं भने नेपालमा सञ्चालित खम्पा (तिब्बतको खाम क्षेत्रका बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ) लडाका क्याम्पहरुका लागि अमेरिकन सप्लाई भरणपोषण र दानापानी विक्रम सम्बत २०३१ सालमै बन्द हुन्छ । राजा वीरेन्द्रका पालामा नेपाली सेनाले खम्पाहरुलाई धपाउन सैनिक कारबाही थाल्छ र सफल हुन्छ ।
खम्पा निसशस्त्रीकरण
नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछि चीन सरकार तथा अन्तर्राष्ट्रिय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो । ९ वटा स्थल सैनिक बटालियन (गण) (हेलिकोप्टर सपोर्ट साथ ) हरूका युनिटहरू खम्पाहरूको पोष्ट रहेको स्थान मुस्ताङ पुगे र तिनीहरूलाई आत्मसमर्पण गर्न समय सीमा तोकियो । हतियार त्यागी आत्मसर्मपण गर्ने खम्पाहरूलाई नेपालको नागरिकता समेत दिएर रसुवा, र माथिल्लो तिमाल क्षेत्रमा जमिन दिने जानकारी गराइयो ।
खम्पा कमान्डर वाङदी आत्मसमर्पण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हँुदै भागेका थिए । पछि नेपाल प्रहरीको एक चौकी लुट्दै गर्दा खम्पा कमान्डर वाङदी शाही नेपाली सेनाबाट डोटीमा मारिए । यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरिक सुरक्षामा यति ठूलो संख्यामा परिचालन भएको थियो । (हेरौं–विकिपिडिया) (प्रतिगमन र प्रोक्सी वारका ७५ वर्षको श्रृंखलाबद्ध टिप्पणी समाप्त) (साँघु साप्ताहिक, २०८१ चैत ११)
प्रतिकृया दिनुहोस