• शनिबार-बैशाख-१३-२०८२

वीरगंजमा करिब १० लाख बराबरको भिटामिनसहित एक जना पक्राउ

 

पर्सा, वैशाख १२ – सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२४ रामगढवाबाट झण्डै ९ लाख ६० हजार रुपैयाँ बराबरको भिटामिनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

 

प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंजको टोलीले वीरगंज–२५ सिर्सिया बस्ने ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिएको हो। उनी भारतबाट नेपालतर्फ भिटामिनका क्याप्सुल ल्याउँदै गरेका थिए।

 

सशस्त्र प्रहरीले पक्राउ गरेको ना २ स १०१७ नम्बरको अटोमा Lycopene with Multivitamin and Multiminerals Capsule (NUTRI–CURE) ब्रान्डका ४ हजार ८ सय क्याप्सुल फेला पारेको हो।

 

साथै, उक्त अटो र साथमा रहेका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनहरूको भन्सार दाखिला मूल्य करिब ६ लाख रुपैयाँ रहेको जनाइएको छ।

 

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका अमृत साह कानुलाई बरामद भिटामिन तथा सवारीसाधनसहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

 

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षाकर्मीको निगरानी कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस