रोम, १३ बैशाख । पोप फ्रान्सिसको अन्त्येष्टि आज अर्थात अप्रिल २६ हुँदैछ । उनको अन्त्येष्टिमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु देखी विश्वभरका नेता र आम जनता जम्मा हुने भएका छन् ।
पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।
आफ्नो मृत्युको अघिल्लो दिन पोप फ्रान्सिसले इस्टर आइतबारको लागि मौन आशीर्वाद दिएका थिए । उनले विज्ञप्ति जारी गर्दै गाजालगायत विश्वभर चलिरहेको द्वन्द्वका बारेमा चर्चा गर्दै शान्ति कायम गर्न अपिल समेत गरेका थिए ।
खासमा अब पोप फ्रान्सिसलाई भ्याटिकन भित्र गाडिने छैन । उनी एक शताब्दीभन्दा बढीमा भ्याटिकनबाहिर गाडिने पहिलो पोप हुनेछन् । पोपलाई सामान्यतया भ्याटिकन सिटीको सेन्ट पिटर्स बासिलिका मुनिको गुफाहरूमा गाडिने चलन थियो तर पोप फ्रान्सिसलाई रोमको टाइबर नदीको अर्को किनारमा रहेको सान्ता मारिया म्यागियोर बासिलिकामा गाडिने भएको छ ।
पोपले सान्ता मारिया म्यागियोर बासिलिकामा उनको अन्त्येष्टि गर्ने बारेमा डिसेम्बर २०२३ मा हुने खुलासा गरेका थिए । उनले म्यागियोर बासिलिकासँग विशेष सम्बन्ध महसुस गरेको बताएका थिए । तिनीहरू भर्जिन मेरीको सम्मानमा सधै आइतबार बिहान यहाँ जानेसमेत गर्दथे ।
यसअघिका अन्य ७ पोपहरू पनि सान्ता मारिया म्यागियोरमा गाडिएका छन् । पोप लियो तृतिया भ्याटिकन बाहिर गाडिएको अन्तिम पोप थिए । उनको मृत्यु १९०३ मा भएको थियो ।
उनको अन्त्यष्टिसँगै नयाँ पोप चयन प्रक्रिया पनि सुरू हुनेछ । यस प्रक्रियालाई ‘पापल कन्क्लेभ’ भनिन्छ । यसको अर्थ पोप चयन गर्न कार्डिनलहरूको गोप्य बैठक हो । यो सम्मेलन सामान्यतया पोप पद रिक्त भएको १५ देखि २० दिन पछि सुरू हुन्छ ।
खासमा कार्डिनलहरू क्याथोलिक धर्मका वरिष्ठ पुजारीहरूको समूह हो । तिनीहरूको काम पोपलाई सल्लाह दिनु हो । प्रत्येक पटक पोप यी कार्डिनलहरू मध्येबाट छनोट गरिन्छ । तर, पोप बन्नका लागि कार्डिनल हुन भने आवश्यक छैन । जस्तो कि अर्बन छैटौं, कार्डिनल कलेजबाट निर्वाचित नभएका अन्तिम पोप थिए । जो सन १३७९ मा पोप भएका थिए ।
प्रतिकृया दिनुहोस