• शनिबार-बैशाख-१३-२०८२

कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

 

बागमती, १३ वैशाख : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 

    
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 

 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 

 

ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताउनुभयो । सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । 

 

 

प्रतिकृया दिनुहोस