काठमाडौं, वैशाख १३ – राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खला २०८२ वैशाख १३ गते शनिबार अपराह्न १ बजे पाठशाला नेपालको सभाकक्ष, थापागाउँ, नयाँबानेश्वरमा भव्य समारोहका साथ सम्पन्न भयो ।
समारोहमा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक रूपान्तरण अभियानमा क्रियाशील, छन्द बचाऊ अभियानका अभियन्ता एवम् प्रखर प्रगतिवादी स्रष्टा प्रा.डा. रामप्रसाद ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिए ।
समारोहको प्रमुख आतिथ्य राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सङ्घका उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ प्राध्यापक, समालोचक, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्रष्टा ज्ञवालीका कविता वाचनसँगै उनले कविताका रचनागर्भहरूबारे पनि भावुक र सशक्त ढंगले जानकारी गराएका थिए । सामाजिक विकृति, विसङ्गति, राजनीतिक स्खलन, रूपान्तरणको चेतना, प्रेम, त्याग, कर्मशील जीवन आदिका पक्षमा आवाज उठाउने उनका कविता ‘म कवि’, ‘आक्रोश’, ‘धिक्कार मेरो जुनी’, ‘धेरै फरक पो छ त’, ‘साँच्चै सुन्दर छ्यौ तिमी !’, ‘म त देश हुँ’, ‘उज्यालो यात्रा’ लगायत सात उत्कृष्ट पद्यकविता प्रस्तुत गरिएका थिए ।
साथै, सहयोगी कविहरू दामोदर अधिकारी र दिनेश पाण्डेका पनि वैचारिक, शक्तिशाली कविता प्रस्तुत गरिए, जसमा संगीतकार शंकर योगीले साङ्गीतिक लय प्रदान गरेका थिए ।
प्रमुख समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले ज्ञवालीका कवितामा समाजप्रतिको गहिरो अनुभूति, कर्मशीलताको वकालत, लैङ्गिक चेतना, आशावादी क्रान्तिकारी दृष्टिकोण र समकालीन यथार्थको स्पष्ट चित्रण रहेको बताउँदै उनका काव्यशिल्पलाई प्रशंसायोग्य र प्रेरणादायी बताएका थिए ।
प्रमुख अतिथि प्रेमनाथ अधिकारीले समारोहको साजसज्जा, प्रस्तुति शैली र कविताको गायनलाई उच्च मूल्याङ्कन गर्दै यस्ता सिर्जनाले मृत आत्मालाई समेत जिउँदो तुल्याउने शक्ति राख्ने बताए ।
कार्यक्रमको अन्त्यमा महासचिव डा.कृष्ण सुवेदीले समग्र कवि ज्ञवालीको योगदानलाई मूल्याङ्कन गर्दै ‘अविरल जनसाहित्य यात्रा’को आगामी ९९ औँ शृङ्खलामा प्रा.डा. विदुर चालिसेलाई प्रस्तुत गरिने जानकारी दिँदै सबैलाई सहभागिताको निम्तो दिए ।
यो शृङ्खला नेपाली साहित्यको रूपान्तरणमुखी यात्रामा एक अविस्मरणीय अध्यायको रूपमा स्थापित भएको छ ।
प्रतिकृया दिनुहोस