• सोमबार-बैशाख-१५-२०८२

आईपीएलमा बढाइयो सुरक्षा, अब ‘बज्र सुपर शट’ ले गर्नेछ थप सुरक्षा

 

नयाँ दिल्ली, १५ बैशाख । काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पुरै सुरक्षा अलर्ट जारी राखिएको छ । 

 

जोखिम ठानिएका सबै क्षेत्रका सबैजसो कुरामा मसिनो गरी सावधानी अपनाइएको छ । त्यसैले तनावपूर्ण वातावरणका बीच अब आईपीएल २०२५ मा पनि सुरक्षा बढाउने निर्णय गरिएको छ । 

 

जसअनुसार अबदेखि एयर स्पेसको सुरक्षाका लागि आईपीएलको प्रत्येक स्थानमा एन्टी ड्रोन प्रणाली तैनाथ गरिने भएको छ। यो हतियारले आकाशबाट बाज जस्तै हरेक खेल र दर्शकमा नजर राख्ने छ । यसको सुरुवात इडेन गार्डेनमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेलबाट सुरू भएको हो । 

 

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर निजी कम्पनीले यस्तो पहल गरेको हो । आईपीएल विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग हो, जसमा धेरै ठूला खेलाडीहरु संलग्न छन् । जोखिम मोल्नु पर्ने कारण यही हो र सुरक्षा ब्यवस्था थप कडाइ गरिएको छ ।

 

यो एन्टी ड्रोन प्रणालीले स्टेडियमको चार किलोमिटरको दायरा भित्र कुनै पनि संदिग्ध ड्रोन पहिचान गर्न मद्दत गर्नेछ । यो हतियारको नाम ‘बज्र सुपर शट’ हो, जसले ड्रोनको कम्युनिकेशन सिग्नललाई बिगार्न सक्ने कुनै पनि सम्भावित खतरालाई रोक्न सक्षम छ । हल्का भएकाले यसलाई सजिलै जहाँ पनि तैनाथ गर्न सकिन्छ। साथै, यो कुनै पनि प्रकारको आवृत्ति पहिचान गर्न र रोक्न मा विशेषज्ञताले भरिपुर्ण छ । 

 

तसर्थ, स्टेडियम जस्ता भीडभाड हुने ठाउँहरूको लागि यो धेरै प्रभावकारी छ। राष्ट्रिय सुरक्षा र स्वदेशी रक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो ।


गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले निहत्था र निर्दोष पर्यटकहरूमाथि गोली चलाएको थियो, जसमा २६ बाह्य र स्वदेशी पर्यटकहरू मारिएका थिए र अरू धेरै घाइते भएका थिए । यस हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा (एलईटी) सँग सम्बन्धित पाकिस्तानी आतंकवादी संगठन द रेजिस्टेन्स फोर्स (टीआरएफ) ले लिएको थियो ।

 

यो डरलाग्दो घटनापछि क्रिकेटको सुुरक्षाको चर्चाको विषय बनेको हो । साथै, सो घटनाको दुःख व्यक्त गर्दै बीसीसीआईले मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा नाचगान र गीत गाउन प्रतिबन्ध लगाएको थियो । साथै लिगमा आवद्ध खेलाडी सबैजना कालोपट्टी लगाएर मैदानमा आएका थिए । यो सबै आतंकवादी हमलाको बिरोधका साथै मृतक प्रति गहिरो शोक तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनाका लागि गरिएको थियो । 

 

 

प्रतिकृया दिनुहोस