• मंगलबार-बैशाख-१६-२०८२

रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

 

पाटन (ललितपुर), १५ वैशाख : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ  रथारोहण गराउनुभएको हो । 

 

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो । ञवाल गुठका नाइके प्रेम महर्जनका अनुसार आजको चार दिनपछि रथ तानेर गावहाल पु-याइन्छ । “गावहालमा नौ टोलले जात्रा मनाउँछ, गावहाल पु-याएको भोलिपल्ट भोज गरिन्छ”, उहाँले भन्नुभयो ।

ञवाल गुठीका गुठियार रत्न डंगोलका अनुसार रथ बनाउन सुरु भएको १५ दिनमा सम्पन्न हुन्छ, जावलाखेल नपु-याएसम्म मर्मत गर्ने काम ञवाल गुठीले नै गर्नुपर्ने हुन्छ । “मच्छिन्द्रनाथसँगै १०८ लोकेश्वर हुन्छन्, लोकेश्वरमध्येका पद्मवाणी लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न ल्याउनुनुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल मच्छिन्द्रनाथको पाउमा अर्पण गरियो । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्नुभएको थियोे”, उहाँले भन्नुभयो ।

 

भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रुपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने पुजारी (३२ पानेजुमध्येका एक) कमलराज बज्राचार्यले बताउनुभयो । “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्ने परम्परा छ भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओढाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु-याइन्छ”, उहाँले भन्नुभयो । 

 

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियोे । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारूकामाक्षबाट नेपाल ल्याएका थिए । 

 

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ । 

 

करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ नरेन्द्रदेवका छोरा राजा बरदेवले बनाउने चलन चलाएको मानिने पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन्,“ उहाँले भन्नुभयो ।

रक्तावलोकितेश्वर मुहार अरूणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी  गराउनुभयो। वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।
---

 

प्रतिकृया दिनुहोस