काठमाडौं, वैशाख १५ – पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल, महासचिव जन रेग्मी, सचिव विकास सिलवाल तथा एकीकृत स्वास्थ्यकर्मी संगठनका महासचिव टोप थापाले २०८२ वैशाख १५ गते साेमबार माइतीघरमा जारी चिकित्सकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
उनीहरूले आन्दोलन स्थलमा पुगेर चिकित्सक आन्दोलनका संयोजक डा. राजु चौधरीलाई औपचारिक रूपमा ऐक्यबद्धता पत्र हस्तान्तरण गरेका हुन् ।
यस अवसरमा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा चिकित्सकहरूद्वारा उठाइएका मागहरू जायज रहेको उल्लेख गर्दै तिनको शीघ्र सम्बोधन गर्न सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई गम्भीरतापूर्वक लिएर समाधान नगरेसम्म आन्दोलनको समर्थन जारी रहने चेतावनी पनि दिइएको छ।
एकीकृत स्वास्थ्यकर्मी संगठनले चिकित्सकहरूका मागप्रति पूर्ण समर्थन जनाउँदै सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
संगठनले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा देखिएको अव्यवस्था र उपेक्षालाई अन्त्य गर्दै समग्र स्वास्थ्य प्रणाली सुधार्न माग गरेको छ।
चिकित्सक आन्दोलन अहिले चिकित्सा शिक्षा सुधार, कार्यस्थल सुरक्षालगायत विभिन्न मागकाे विषयमा जारी छ।
प्रतिकृया दिनुहोस