• बुधबार-बैशाख-१७-२०८२

जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन, आतंकवादी आक्रमणविरुद्ध हजारौंको प्रदर्शन

जनकपुरधाम, वैशाख १७ – भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको घटनाविरुद्ध जनकपुरधाममा मंगलबार विशाल विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरको पुतला समेत दहन गरिएको छ।

नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकचोकमा आयोजित विरोध कार्यक्रममा हजारौं नागरिकले सहभागिता जनाएका थिए। 'आतंकवाद मुर्दाबाद', 'सुदीपलाई न्याय दे', 'पाकिस्तान होशियार' लगायतका नारा लगाउँदै प्रदर्शनकारीहरूले जनकचोकबाट जानकी मन्दिरसम्म परिक्रमा गर्दै आक्रोशपूर्ण प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले पाकिस्तानी सेना प्रमुख मुनिरको पुतला दहन गर्दै उनले आतंकवादीहरूप्रति सहानुभूति जनाएको अभिव्यक्तिको तीव्र विरोध जनाएका थिए। कार्यक्रम संयोजकका अनुसार, पहलगाम हमलामा २७ जनाको ज्यान गएकोमा एक नेपाली नागरिक समेत मारिनु दुःखद र आपत्तिजनक भएको भन्दै घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरिने प्रतिबद्धता जनाइएको छ।

 

विरोध कार्यक्रमको अध्यक्षता संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा अध्यक्ष डा. राजीव झा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिंह, राम जीवन साह, चुरे संघर्ष समितिका अभियानीहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रमुख सहभागीहरूमा पूर्वजिसस उप–प्रमुख दीपक झा, जनकपुरधाम उप–महानगरपालिका–३ का वडाध्यक्ष दिपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए। हिन्दू तथा मुस्लिम समुदायका युवाहरूको स्वस्फूर्त सहभागिताले एकताको सन्देश दिएको कार्यक्रम संयोजकहरूले जनाएका छन्।

 

नेपाल–भारत खुला सीमा संवाद समूहले भविष्यमा पनि सीमा सुरक्षा, आतंकवाद विरोध तथा पीडितको न्यायका लागि निरन्तर संघर्ष जारी राख्ने बताएको छ।

प्रतिकृया दिनुहोस