चितवन, वैशाख १७ — कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), चितवनमा न्यूरो सर्जरी सेवा पुनः सुरु गरिएको छ। वरिष्ठ न्यूरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा डा. बिपिन चौरसिया सहितको चिकित्सक टोलीले सेवा दिन थालेको हो।
डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा तथा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्नेछ।
"हामी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) लगायत मस्तिष्क ट्युमर, मस्तिष्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने, पक्षाघात लगायत सम्पूर्ण न्यूरो समस्याको उपचार गर्न सक्षम छौं," डा. चौरसियाले बताए।
अस्पतालका अनुसार नयाँ सेवा सुरु भएपछि चितवन तथा आसपासका बिरामीलाई काठमाडौंसम्म रिफर गर्नुपर्ने झन्झट हट्नेछ। साथसाथै, स्थानीयस्तरमै गुणस्तरीय न्यूरो सर्जरी सेवा उपलब्ध हुने विश्वास गरिएको छ।
प्रतिकृया दिनुहोस