• शुक्रबार-बैशाख-१९-२०८२

युक्रेन खनिजका भण्डार रूसकाे कब्जा क्षेत्रमा, अझै सहज छैन अमेरिकालाई

 

काठमाडौं, १९ बैशाख । अमेरिका र युक्रेन बिचमा युद्धग्रस्त क्षेत्रका केही प्राकृतिक स्रोतहरूमा वाशिंगटनलाई पहुँच दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फेब्रुअरीमा भएको चर्को बहसपछिको दुई महिना पछि खनिज सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

रुसविरुद्धको युद्धमा अमेरिकाले युक्रेनलाई ३५० अर्ब डलर सहयोग गरेको थियो । बदलामा ट्रम्पले युक्रेनलाई दुर्लभ खनिज उपलब्ध गराउन माग गरिरहेका थिए ।

 

जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न फेब्रुअरीको अन्त्यमा अमेरिका गएका थिए । तर, ह्वाइट हाउसमा युद्धविरामलाई लिएर दुवैबीच चर्को बहस भएको थियो । यसपछि जेलेन्स्की सम्झौतामा हस्ताक्षर नगरी अमेरिकाबाट फर्किएका थिए । तर, अब यो सम्झौता पूरा भएसँगै अमेरिकाले युक्रेनबाट दुर्लभ खनिज प्राप्त गर्ने बाटो खुलेको छ ।

 

युक्रेनमा १०० भन्दा बढी दुर्लभ खनिजको भण्डार रहेको छ । तीमध्ये २० वटा यस्ता भण्डार छन्, जसलाई अमेरिकी भूगर्भ सर्वेक्षणले अमेरिकाको आर्थिक वृद्धि र सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण मानेको छ । युक्रेनमा अवस्थित केही प्रमुख खनिजहरू यस्ता छन् ।

 

टाइटेनियम : यो चाँदी जस्तो देखिने सामग्री चट्टानको टुक्राको रूपमा भूमिगत पाइन्छ । टाइटेनियम फलाम भन्दा ५० प्रतिशत हल्का र स्टील भन्दा ५६ प्रतिशत हल्का छ तर दुवै धातु भन्दा धेरै गुणा बलियो छ । टाइटेनियम पग्लन २ हजार डिग्री सेल्सियसको तापक्रम चाहिन्छ। यसको मतलब यो अधिक गर्मी सहन सक्छ । त्यसकारण यो विमान देखि पावर स्टेशनहरू सबैमा प्रयोग गरिन्छ। रूस–युक्रेन युद्ध सुरु हुनु अघि युक्रेनले विश्वव्यापी टाइटेनियम उत्पादनको ७ प्रतिशत हिस्सा ओगटथ्यो ।

 

लिथियम : ज्वालामुखी चट्टानका मुहानहरूमा पाइने लिथियम हल्का सेतो रंगको हुन्छ। यो संसारको सबैभन्दा हल्का धातु हो । लिथियमलाई खुला हावामा राखिँदैन किनभने यो अक्सिजनको सम्पर्कमा आउँदा तुरुन्तै आगो लगाउँछ । यस कारणले गर्दा लिथियमलाई तेलमा डुबाइन्छ । लिथियमलाई चक्कुले पनि काट्न सकिन्छ किनकि यो धेरै नरम हुन्छ । यसलाई विद्युतीय ब्याट्री बनाउन प्रयोग गरिन्छ । युक्रेनले युरोपको कुल लिथियम भण्डारको ३३ प्रतिशत हिस्सा ओगटेको छ ।

 

यूरेनियम :  यो एक रेडियोधर्मी धातु हो, जुन चट्टानमा पाइन्छ। परमाणु बम बनाउन प्रयोग हुने भएकाले युरेनियमलाई विश्वको सबैभन्दा खतरनाक धातु पनि भनिन्छ। विश्वको कुल युरेनियमको २ प्रतिशत युक्रेनमा पाइन्छ ।

 

दुर्लभ खनिजहरू : यो १७ खनिजहरूको समूह हो, जुन उपभोक्ता इलेक्ट्रोनिक्स देखि सैन्य उपकरणहरूमा सबै चीजहरूमा प्रयोग गरिन्छ। यसमा सेरियम, डिस्प्रोसियम, एर्बियम, युरोपियम, ग्याडोलिनियम, होल्मियम, ल्यान्थेनम, ल्युटेटियम, नियोडियम, प्रासियोडियम, प्रोमेथियम, समेरियम, स्क्यान्डियम, टेर्बियम, थुलियम, यटरबियम र इराडियम समावेश छ । यसबाहेक युक्रेनमा ग्रेफाइटको ठूलो भण्डार पनि छ, जुन विद्युतीय सवारी साधन बनाउन प्रयोग गरिन्छ।

 

दुर्लभ खनिजबाट अमेरिकाले कसरी अर्बौं डलर कमाउँछ ?

 

ट्रम्पले युक्रेनको दुर्लभ खनिजको ५० प्रतिशतभन्दा बढी लिने प्रस्ताव गरेका छन् । यसमा ग्रेफाइट, युरेनियम, टाइटेनियम, लिथियमलगायत धेरै बहुमूल्य र दुर्लभ खनिजहरू समावेश छन् । तिनीहरू टेस्ला कारहरूदेखि स्पेस एक्स रकेटहरू, होइट्जर तोपदेखि मोबाइल चिप्ससम्म सबै चीजहरूमा प्रयोग गरिन्छ ।

 

फ्लिन्डर्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ लेक्चरर जेसिका गेनाउरले एबीसी न्यूजलाई बताइन् कि युक्रेनको दुर्लभ खनिजहरू ट्रम्पको केन्द्रबिन्दुमा रहेको छ किनभने उनले अमेरिकी सुरक्षा र उद्योगलाई बढावा दिन खोजिरहेका छन् । ट्रम्प यी खनिजहरूको सहयोगमा चीनलाई कडा प्रतिस्पर्धा दिन चाहन्छन् ।


युक्रेनसँग दुर्लभ सामग्रीको धेरै महत्त्वपूर्ण भण्डारहरू छन् । यद्यपि, युद्ध पछि, यी मध्ये धेरै क्षेत्रहरू रूसको कब्जामा छन् । युक्रेनको लुहान्स्क, डोनेस्क, जापोरिजिया र खेरसन हाल रुसको कब्जामा छन् । यी प्रान्तहरूमा युक्रेनको कुल खनिज भण्डारको ५३ प्रतिशत हिस्सा ओगटछ, जसको मूल्य ६ ट्रिलियन पाउण्ड अनुमान गरिएको छ तर जुन क्षेत्रमा खनिज रहेको त्यो क्षेत्र भने सेप्टेम्बर २०२२ देखि पुटिनको कब्जामा छ ।

 

फेब्रुअरी २५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग दुर्लभ खनिजको सम्झौता गर्ने इच्छा व्यक्त गरेका थिए । पुटिनले दुर्लभ खनिजका लागि अमेरिकासँग काम गर्न तयार रहेको बताएका थिए । यसमा रुसले युक्रेनबाट कब्जा गरेको जमिन पनि समावेश छ ।


ट्रम्पले यसबारे एक बयान दिएका थिए, ‘म रूसबाट खनिज किन्न चाहन्छु। रूससँग दुर्लभ धातुहरूको राम्रो भण्डार छ। त्यहाँ तेल र ग्यास पनि ठूलो मात्रामा छ। यो रूसको लागि राम्रो कुरा हो, किनकि हामी यसमा सम्झौता गर्न सक्छौं।’

 

विश्वमा दुर्लभ खनिजको आपूर्तिमा चीनको नियन्त्रण छ । पछिल्ला केही दशकहरूमा, चीन दुर्लभ खनिजहरूको उत्खनन र प्रशोधन गर्ने हिसाबले सबैभन्दा ठूलो देश बनेको छ । खानी प्रविधि प्रतिवेदनका अनुसार विश्वका दुर्लभ खनिजमध्ये ६० प्रतिशतदेखि ७० प्रतिशत चीनले उत्पादन गर्छ भने ९० प्रतिशत दुर्लभ खनिज चीनमा प्रशोधन गरिन्छ ।

 

सन २०२३ मा अमेरिकी भूगर्भ सर्वेक्षण रिपोर्ट अनुसार २०१९ देखि २०२१ सम्म अमेरिकाले ७४ प्रतिशत दुर्लभ खनिजहरू चीनबाट आयात गरेको थियो । यसबाहेक ५३ प्रतिशत ग्यालियम र ३३ प्रतिशत ग्रेफाइटसहित ९ अन्य खनिज पनि आयात गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस