• शनिबार-बैशाख-२०-२०८२

सुदूरपश्चिम प्रदेश : प्रदेश निजामती सेवा ऐन र सङ्घीय निजामती ऐनसँग बाझियो


घोडाघोडी (कैलाली), १९ वैशाख : सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐन, २०७९ सङ्घीय निजामती सेवा ऐन, २०४९ सँग बाझिएको छ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आज विभिन्न सेवा, समूह, उपसमूहका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन गरेसँगै प्रदेश र सङ्घीय ऐन बाझिएको स्पष्ट भएको हो ।

 

आज प्रकाशित विज्ञापनमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा, अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने उल्लेख छ ।

 

जसअनुसार ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ ३९ जना, कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा ४७ जना, आन्तरिक प्रतिस्पर्धा, अन्तरतह र खुला तथा समावेशीतर्फ एक सय ४४ गरी जम्मा दुई सय ३० जनाको स्थायी पदपूर्ति गरिनेछ । 

 

पदपूर्तिका लागि आह्वान गरिएका मध्ये सबैभन्दा बढी ६२ जना प्रदेश वन सेवा जनरल फरेष्ट्रितर्फ रहेको छ । जसमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ १२, कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा १३, आन्तरिक प्रतिस्पर्धा तीन, अन्तर तह तीन र खुला तथा समावेशीतर्फ ३१ जना रहेका छन् । यसअनुसार बढुवाबाट २५ जना र प्रतिस्पर्धाबाट ३७ जना माग गरिएको छ । 

    
सङ्घीय निजामती सेवा ऐनको दफा ७ (च) अनुसार राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत सातौँ तह) का लागि ७० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट तथा ३० प्रतिशत बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन) द्वारा पदपूर्ति गरिने व्यवस्था रहेको छ । 

 

यससँग बाझिने गरी सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐनको दफा ९ (घ) अनुसार  ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट तथा ४० प्रतिशत बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन, कार्य क्षमताको मूल्याङ्कन), ५ प्रतिशत अन्तरतह प्रतियोगिता र ५ प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गरिने व्यवस्था रहेको छ । 

 

सुदूरपश्चिम प्रदेश सरकारले निजामती सेवासम्बन्धी कानुन पारित गरी लागू गरेपछि सङ्घीय निजामती कानुनसँग बाझिने व्यवस्था सार्वजनिक भएका छन् । प्रदेश लोक सेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनले यो विषयलाई झनै विवादास्पद बनाएको छ ।

 

नेपालको संविधान धारा ५७ (६) अनुसार प्रदेश, स्थानी सभाले कानून बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने र बाझिएको हदसम्म अमान्य हुने स्पष्ट प्रावधान छ । 

 

संविधानविद् डा भीमार्जुन आचार्य भन्नुहुन्छ, “प्रदेश कानुन सङ्घीय कानुनसँग बाझिने गरी बनाउनु हुँदैन । संविधानको धारा १३३ ले प्रदेशसभाले बनाएको कुनै कानुन सङ्घीय संसद्ले बनाएको कानुनसँग बाझिएमा मर्का पर्ने पक्षले बाझिएको कानुन बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिन सक्ने र त्यस्तो कानुन वा कुनै भाग बदर हुने व्यवस्था रहेको छ ।”

 

डिभिजन वन कार्यालय कैलालीमा कार्यरत रेन्जर नवराज उपाध्यायले सङ्घीय निजामती ऐनसँग बाझिने गरी सुदूरपश्चिम प्रदेशले बनाएको ऐनको कार्यान्वयनले कर्मचारीहरूमाझ अन्योल, असमानता र विभेदको स्थिति सिर्जना भएको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनको दफा २३ को उपदफा ६ मा समायोजित सङ्घीय कर्मचारीलाई पाँच वर्षमा दुई तहमाथिको बढुवाका लागि योग्य हुने भन्ने व्यवस्था विवादित विषय बनेको छ ।” 

 

हाल निजामती कर्मचारी सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत छन् । तर तीनवटै तहमा एकीकृत नीति र कानुन अभाव हुँदा बढुवा, सरुवा, पदपूर्ति जस्ता आधारभूत व्यवस्थापन प्रक्रियामा अन्योल देखिएको छ ।

 

सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन सङ्घीय कानुनसँग बाझिएको मात्र होइन, संविधानको मर्मविपरीत रहेको भन्दै यसको पुनरावलोकन आवश्यक देखिन्छ । कर्मचारी प्रशासनमा एकरूपता र निष्पक्षता कायम गर्न सङ्घीय सरकार, प्रदेश र लोक सेवा आयोगबीच गम्भीर समन्वय हुन आवश्यक रहेको वन सेवा अधिकृत सातौँ तहको लोकसेवा परीक्षा तयारी गरिरहनुभएका रामचन्द्र अवस्थीले बताउनुभयो ।
---

 

प्रतिकृया दिनुहोस