• शनिबार-बैशाख-२०-२०८२

सशस्त्र प्रहरीको अवलोकनमा ३५ सैनिक अधिकृत

काठमाडौं, वैशाख १९। नेपाली सेनाका ३५ जना अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन्। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम अन्तर्गत यो भ्रमण आयोजना गरिएको हो।

२०८२ वैशाख १९ गते सम्पन्न उक्त भ्रमणका क्रममा सहभागी अधिकृतहरूले सशस्त्र प्रहरी बलको संगठनात्मक संरचना, दायित्व, कार्यक्षेत्र, तालिम पद्धति, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा जानकारी प्राप्त गरे। भ्रमण टोलीलाई सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले पावर पोइन्ट प्रस्तुतिसहित विस्तृत रूपमा जानकारी गराएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पार्नुभएको थियो ।


कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारीलगायतका विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको थियो ।


अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूले प्रधान कार्यालयस्थित संग्राहालय  र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरु र केन्द्रीय आदेश कक्षको अवलोकन समेत अवलोकन गर्नुभएको थियो ।

 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआईजी कुमार न्यौपानेका अनुसार, यस प्रकारको भ्रमणले सुरक्षा निकायहरूबीच आपसी समन्वय, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

 

“नेपाली सेना र सशस्त्र प्रहरी बल दुवै राष्ट्रको सुरक्षामा समर्पित निकाय हुन् । यस्ता भ्रमणहरूले तालिमरत अधिकृतहरूलाई विभिन्न सुरक्षा प्रणालीको गहिरो जानकारी दिन्छ,” उहाँले भन्नुभयो।

 

भ्रमणका क्रममा सहभागी अधिकृतहरूले सशस्त्र प्रहरी बलको सङ्ग्रहालय, कमाण्ड कन्ट्रोल रुम तथा विभिन्न शाखा विभागहरूको पनि अवलोकन गरेका थिए। उनीहरूले प्राप्त जानकारी तालिमका क्रममा सिकाइएका सैद्धान्तिक पक्षलाई व्यवहारमा बुझ्न मद्दत पुगेको बताएका छन्।

 

नेपाली सैनिक वार कलेजमा सञ्चालित हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सशस्त्र सेवामा उच्च तहको नेतृत्व विकासका लागि महत्वपूर्ण मानिन्छ। यस्तो तालिममा सहभागी अधिकृतहरूले रणनीतिक सोच, समन्वय क्षमताको विकास, तथा सुरक्षासम्बन्धी बहुआयामिक ज्ञान आर्जन गर्ने अवसर पाउँछन्।

प्रतिकृया दिनुहोस