• शनिबार-बैशाख-२०-२०८२

तिप्लिङमा सशस्त्र प्रहरीको नयाँ BOP स्थापना

धादिङ।  धादिङको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालले नयाँ बोर्डर आउट पोस्ट (BOP) स्थापना गरेको छ। गृहमन्त्री रमेश लेखकले २०८२ वैशाख १९ गते उक्त BOP को औपचारिक उद्घाटन गर्नुभयो।

धादिङ सदरमुकामबाट करिब ७० किलोमिटर टाढा र समुद्री सतहबाट २,२०० मिटर उचाइमा अवस्थित उक्त BOP हाललाई गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनमा सञ्चालन गरिएको छ। सीमावर्ती सुरक्षालाई मजबुत पार्ने उद्देश्यले स्थापना गरिएको यस पोस्टले चीनसँगको उत्तर सीमाको निगरानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

 

उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक नरेन्द्रराज गिरी, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थिति थियो।

 

यसअघि पनि उत्तरतर्फका प्रमुख नाका-दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोलामा BOP स्थापना भइसकेको छ।

 

हालसम्म चीनतर्फको हिमाली सीमा क्षेत्रमा ११ र भारततर्फको तराई सीमा क्षेत्रमा २४४ गरी कुल २५५ वटा BOP सञ्चालनमा रहेका छन् । सरकारले सीमावर्ती सुरक्षालाई प्राथमिकतामा राख्दै थप BOP स्थापना गर्ने नीति लिएको छ।

प्रतिकृया दिनुहोस