• आइतबार-बैशाख-२१-२०८२

विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छ : राष्ट्रपति पौडेल

 

काठमाडौँ, २० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता एवं ऐक्यवद्धता रहेको बताउनुभएको छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

 

राष्ट्रपति पौडेलले आज नागार्जुन –७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ”, भन्नुभयो । 

 

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै राष्ट्रपतिले वैदिक सनातन संस्कति र परम्पराको प्रवर्द्धन गर्न मन्दिरका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यसबाट धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

 

“विश्वमा भौतिक विकासको होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा मन्दिरबाट योगदान पुग्ने मैले विश्वास लिएको छु”, राष्ट्रपतिले भन्नुभयो ।
---

 

प्रतिकृया दिनुहोस