• मंगलबार-बैशाख-२३-२०८२

बागमती प्रदेश मुख्यमन्त्री कपको उपाधि एपीएफलाई

 

त्रिशूली (नुवाकोट), २० वैशाख : ‘बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ । खेलको दोस्रो हाफको अतिरिक्त ६ मिनेटमा एपीएफका अनिता केसीले लागि निर्णायक गोल गरेपछि एपीएफ विजयी भएको हो । 

 

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा आज आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपीसी) लाई १–० गोलले हराउँदै एपीएफले ‘प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप’को उपाधि जितेको आयोजकले जनाएको छ । 

    
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतियोगिताको विजेतालाई नगद रु पाँच लाखसहित सिल्ड, मेडल र ट्रफी तथा उपविजेता एनपीसीलाई नगद रु दुई लाख ५० हजारसहित सिल्ड, मेडल र ट्रफी प्रदान गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा समेत टेवा पुग्ने भन्दै आयोजकको प्रशंसा गर्नुभयो ।

 

प्रवक्ता महतले प्रदेश सरकारको आर्थिक लगानीमा स्थानीय सरकारमार्फत पूर्वाधार विस्तार गरी सञ्चालन गरिएका प्रतियोगिताले खेल क्षेत्रको विकास हुनुका साथै र खेलाडीलाई प्रोत्साहन गरेको बताउनुभयो । 

 

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल सङ्घको आयोजनामा यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका आठवटा क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोगसहित बागमती प्रदेश खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहेको थियो । 
---

 

 

प्रतिकृया दिनुहोस