सुनसरी, वैशाख २० गते । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १७ वर्षदेखि ४० वर्षसम्मका पुरुष र महिला छन्।
वैशाख १९ गते राति करिब ११:४५ बजे धरान–१ स्थित शीतल मार्गमा डेरा गरी बसेका केही व्यक्तिहरू लागुऔषध कारोबारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राई रहेका छन्। उनीहरूको कोठाबाट लुकाइछिपाई राखिएको १० हजार ३१५ पिस लागुऔषध (ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, नाइट्राजेपाम, अरोमिन), ब्राउन सुगर १.७६ ग्राम र नगद २ लाख ५३ हजार ७९६ रुपैयाँ बरामद गरिएको छ।
त्यसै राति धरान–१५ लक्ष्मण मार्गस्थित डेरामा बस्ने धनुषा जनकपुर घर भएका २५ वर्षीय राहुल शाह र उनकी श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ५ हजार ५० क्याप्सुल ट्रामाडोल फेला परेको छ।
त्यस्तै, धरान–१७ सियोन मार्गस्थित ४० वर्षीया ममता भगतको कोठाबाट ट्रामाडोल, २० स्पास्पेन र ओपाडोल गरी ६ हजार २८५ चक्की लागुऔषध बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका सबैलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस