काठमाडौंः पछिल्लो समय नेपाली गीत-संगीतको क्षेत्रमा गजल विधा लोकप्रिय बन्दै गएको छ। परम्परागत साहित्यिक शैलिमा लेखिएको गजल समसामयिक विषयवस्तु समेट्दै जनभावनालाई अभिव्यक्त गर्ने प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदैछ।
नेपाली गजलकारहरूले प्रेम, पीडा, वियोग, परदेशी जीवनदेखि राजनीतिक तथा सामाजिक यथार्थसम्मका विषय गहिरो भावनात्मकता र प्रतीकात्मकतासहित प्रस्तुत गर्दै आइरहेका छन्। त्यसैले गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, गहिरो अर्थ र भावनात्मक अनुभूतिहरूको गहिरो छाप छाड्दै आएको छ।
यही सन्दर्भमा गजलकार उत्तम विचार भेटुवाल द्वारा रचित गजल ‘गजलका कुराले’ समसामयिक नेपाली गजलको जीवन्त उदाहरण हो। बादल, वर्षा, बिजुली, मरुस्थल, आगो, नदीजस्ता जीवन्त प्रतीकहरूमार्फत प्रस्तुत यो गजलमा केवल सौन्दर्य र पीडाको चित्रण छैन, भावनात्मक उपचार, चेतना र परिवर्तनको संदेश पनि अटेको छ।
प्रतीकात्मक गहिराइका शेरहरू
“म बर्साऊँ कि जल गजलका कुराले / भिजाऊँ मरुस्थल गजलका कुराले…”
यो शेर सतही रूपमा हेर्दा पानीले मरुभूमि भिजाउने भाव मात्र लाग्न सक्छ। तर गजलकारले यहाँ जललाई आँसु, भावना, चरणामृत वा देवत्वपूर्ण सन्दर्भमा प्रयोग गरेका छन्। ‘मरुस्थल’ भनेको शुष्क भूमिभन्दा भावनाहीन, प्रेमशून्य मन हो, जसलाई गजलले रसिलो बनाउन सक्छ। यो शेरले गजलको भावात्मक शक्ति उजागर गर्छ।
“जल्यो तन, जल्यो मन छ आगो वदनमा / बनाऊँ म शीतल गजलका कुराले…”
यहाँ गजलको शीतलताले मानसिक पीडा र आन्तरिक असान्तिलाई शान्त पार्न सक्ने क्षमताको संकेत गरेको छ। ‘आगो’ शब्द पीडा, विरह, क्रोधको प्रतीक हो भने गजल त्यस आगोमा शीतलता ल्याउने उपचारको स्रोत हो।
“म बादल म वर्षात बिजुली बनेर / मचाऊँ म हलचल गजलका कुराले…”
यो शेर गजलको रूपान्तरणकारी शक्तिको प्रतीक हो। गजल केवल भावना पोख्ने माध्यम मात्र नभई चेतना जगाउने र समाजमा हलचल ल्याउने हतियार पनि हुन सक्छ भन्ने आशय राख्छ।
‘तिमी’ शब्द यहाँ पाठक, श्रोता वा समाजको प्रतीक हो, जसले आत्मिक तिर्खा मेट्न बाह्य स्रोत खोज्छ, तर गजल आफैभित्रै बगिरहेको हुन्छ। गजलले आत्माको प्यास मेटाउन सक्छ भन्ने आशय प्रस्तुत गरिएको छ।
गायिका बबिना भट्टराईको स्वर र संगीतमा
कवि उत्तम विचारका यी जीवन्त शेरहरूलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो मधुर स्वर, परम्परागत लय र आधुनिक संगीत संयोजनमार्फत गहिरो भावमा ढालेकी छिन्। विनोद भुजेलको एरेन्ज, नकुल कार्कीको रेकर्डिङ, प्रकाश खरेलको मिक्सिङ–मास्टरिङले गजललाई प्राविधिक रूपमा पनि सशक्त बनाएको छ।
‘गजलका कुरा’ शीर्षक भिडियो ए.जे. अजुले निर्देशन गरेका हुन् भने अनिल विष्ट प्युठानीले सम्पादन गरेका छन्। बबिना स्वयं फिचर्ड भएको उक्त भिडियोले गजलको महफिलको अनुभूति दिलाउँछ। हार्मोनियममा उपेन्द्र लिम्बू, तबलामा दीपक सापकोटा, गिटारमा जय बी.के.को साथले गजललाई जिवन्त बनाएको छ।
गजलको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलको प्रस्तुति ‘मेचीदेखि महाकालीसम्म’ मार्फत सार्वजनिक गरिएको हो। गजलकार उत्तम विचारले ‘गजलको आकाशमा अर्को बादल थपिएको’ महसुस सुनाएका छन् भने गायिका बबिना भट्टराईले यो गजल श्रोता-दर्शकले न्याय दिने आशा व्यक्त गरेकी छन्।
बबिना भट्टराईको संगीत यात्रा
‘हसाउँछौ तिम्रै मर्जी…’ बोलको गीतबाट यात्रा सुरु गरेकी बबिना भट्टराई १६ वर्षभन्दा बढी समयदेखि संगीत क्षेत्रमा क्रियाशील छिन्। सुगम संगीतदेखि भक्ति संगीतसम्मको क्षेत्रमा उनको उपस्थिति उल्लेखनीय छ। ‘काले काले कृष्ण’, ‘अच्युतम् केशवम्’, ‘हरे कृष्ण महामन्त्र’, ‘जय जय शम्भु’ लगायतका भजनहरू उनका श्री भजन्स् च्यानलमार्फत सार्वजनिक भएका छन्।
संगीत इतिहासमा चारुकार लक्ष्मीप्रसाद मिश्रको शब्दमा बनेको पहिलो ‘चारु’ गाएर उनी चारु गायनको शुरुवात गर्ने गायिका बन्न सफल भएकी छिन्। पछिल्लो समय ‘अल्लारे’, ‘मदहोस’, ‘अपराजिता’, ‘तिमी नमर्नु है’, ‘पिरतीको गीत’ लगायतका गीतले उनको स्वरको विविधता र संगीत संयोजन क्षमताको सशक्त प्रमाण दिएका छन्।
निष्कर्ष
गजल ‘गजलका कुराले’ केवल शब्दको खेल होइन — यो अनुभूतिको प्रवाह हो। कवि उत्तम विचारको जीवन्त प्रतीकात्मक लेखन, बबिना भट्टराईको मिठासपूर्ण स्वर र सन्तुलित संगीत संयोजनले यो गजललाई नेपाली गजलको संवेदनशील धरातलमा गहिरो छाप छोड्ने सिर्जना बनाएको छ।
कवि प्रमोद भट्टराई ‘प्रतीक’ भन्छन्, “आहा ! बेजोड सेरहरू, स्वर र सङ्गीतको मिठासपूर्ण सङ्गमले गजल भित्रका गजलका कुरा सुनिरहूँ लाग्ने बनेको छ।”
गजल ‘गजलका कुराले’ गजलप्रेमीमात्र होइन, संगीतको आत्मासँग जोडिन चाहने प्रत्येक संवेदनशील श्रोताका लागि एउटा जीवन्त उपहार बनेको छ।
प्रतिकृया दिनुहोस