रौतहट २१ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका ४ पूर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।
हेटौडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा चोट लागेर गम्भिर चोट लागेको थियो । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताएका छन् ।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ ।
प्रतिकृया दिनुहोस