काठमाडौं । ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ वैशाख २९ गतेसम्म चल्ने भएको छ ।
ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा वैशाख १ देखि सुरु भएको एक्स्पो आगामी २९ गतेसम्म चल्ने भएको हो ।
दर्शक एवम अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधि थप्ने मनस्थितिमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए ।
‘ललितपुर फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भिड थाम्न हम्मे परेको आयोजकको दाबी रहेको छ ।
यद्यपि, काठमाडौँ उपत्यकामा भने पहिलो पटक सञ्चालनमा ल्याइएको उनले बताए । त्यस्तै एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ । उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए ।
राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ । प्रवेश निःशुल्क मिलाइएको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ । चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनोरञ्जन लिन सकिनेछ ।
प्रतिकृया दिनुहोस