नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले भारतीय लगानीकर्ताहरूलाई नेपालको प्रमुख आर्थिक क्षेत्रहरूमा लगानी गर्न आह्वान गर्नुभएको छ। काठमाडौंमा आज सम्पन्न "An Aspiring Nepal" शिखर सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रले लिएको सकारात्मक मोड र लगानीमैत्री वातावरणबारे जानकारी गराउनुभयो।
ढकालले नेपाल–भारतका प्रतिष्ठित व्यवसायी, नीति निर्माताहरूको उपस्थितिमा बोल्दै चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो, “हाम्रो कृषि र औद्योगिक क्षेत्रले विशेष राम्रो प्रदर्शन गरिरहेको छ, जसले समग्र आर्थिक वृद्धिलाई गति दिएको छ।” सेवा क्षेत्रमा केही चुनौतीहरू रहेको उहाँले स्वीकार गर्नुभयो।
नेपालमा स्थिर आर्थिक आधार रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले हाल विदेशी मुद्रा सञ्चिति १७.२७ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले नेपालको जनसांख्यिक लाभको पनि चर्चा गर्दै २५ वर्ष मात्र रहेको नेपालको औसत उमेरले यहाँ युवा, प्राविधिक दक्ष जनशक्ति उपलब्ध रहेको र लगानीकर्ताहरूका लागि उपयुक्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
ढकालले ऊर्जाको क्षेत्रमा भारतले नेपालबाट आगामी १० वर्षमा १०,००० मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको सम्झौताका साथै सन् २०२६ मा नेपाल विकासोन्मुख राष्ट्रमा पदोन्नति भएपनि नेपाली सामानहरूलाई भारतले शून्य महसुल सुविधा निरन्तर दिने निर्णयलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्नुभयो।
सूचना तथा सञ्चार प्रविधि (ICT), पर्यटन र व्यावसायिक कृषि क्षेत्र पनि अत्यन्त सम्भावनायुक्त क्षेत्रहरू भएको धकालले बताउनुभयो।
उहाँले नेपालमा वैदेशिक लगानी (FDI) प्रक्रियालाई स्वचालित प्रणालीमार्फत सरल बनाइएको र लगानीमैत्री वातावरण निर्माण गर्न ३० भन्दा बढी कानुनहरू संशोधन गरिएको जानकारी दिनुभयो। “यी सुधारहरूले लगानी र व्यवसाय प्रवर्द्धन गर्न सरकारको गम्भीर प्रतिबद्धता देखाउँछ,” धकालले स्पष्ट पार्नुभयो।
कार्यक्रमको समापनमा अध्यक्ष धकालले अन्तर्राष्ट्रिय व्यवसाय समुदायलाई हार्दिक निमन्त्रणा दिँदै भन्नुभयो, “नेपालको रणनीतिक भौगोलिक स्थिति, सुधारिएको पूर्वाधार, दक्ष जनशक्ति र लगानीमैत्री नीतिहरूले नेपाललाई विभिन्न क्षेत्रहरूमा अद्वितीय अवसरहरूको गन्तव्य बनाएको छ। भारतीय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई हामी हाम्रो देशको समृद्धि यात्राको हिस्सेदार बन्न हार्दिक स्वागत गर्छौं।”
शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद् सदस्य सञ्जीव सान्याल, नेपाल र भारतका वरिष्ठ सरकारी अधिकारी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो। सम्मेलनले नेपाल–भारतबीच आर्थिक साझेदारी थप मजबुत पार्ने तथा द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्न महत्वपूर्ण मञ्चको रूपमा भूमिका खेलेको छ।
प्रतिकृया दिनुहोस