काठमाडौँ, २६ वैशाख : नेपाल प्रेस युनियनले यही वैशाख २७ देखि ३० गतेसम्म ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने भएको छ । नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समिट गर्न लागिएको युनियनले जनाएको छ ।
युनियनले आज यहाँ पत्रकार सम्मेलन गरी समिट काठमाडौँबाट पोखरा हुँदै मनाङसम्म विभिन्न कार्यक्रम गरी सम्पन्न हुने जनाएको हो । विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या, पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न छ मुलुकबाट आएका विषयविज्ञहरूको प्रस्तुति रहने अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाइ, अवसर र चनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिटमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका बारेमा पनि छलफल गरिने जनाइएको छ । ‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति हुने बताइएको छ । ---
प्रतिकृया दिनुहोस