• शनिबार-बैशाख-२७-२०८२

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

 

कास्की,२६ वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।

 

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित हुनुभएको हो । यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो ।
 

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बन्नुभयो । अवार्डका  साथ उहाँहरू दुबैले  टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभएको छ । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा पर्नुभएको थियो ।  पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ हुनुहुन्थ्यो ।

 

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गर्नुभयो । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा हुनुहुन्थ्यो ।  टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बन्नुभयो ।

 

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल सङ्घले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाउनुभयो  । उत्कृष्ट बन्न सफल सबैले अवार्डसहित नगद रू ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो । मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उहाँलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो ।
 

अवार्ड विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो । 
 

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा स्थापित छ ।
---

 

प्रतिकृया दिनुहोस