मणिग्राम, वैशाख २७ — समाजको समग्र विकासमा क्याम्पस र विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका रहने विषयमा विभिन्न प्राध्यापक तथा शोधार्थीहरूले जोड दिएका छन्। रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दुई दिनसम्म सञ्चालन भएको राष्ट्रिय गोष्ठीले नेपाली व्यवसायिक क्षेत्रका समसामयिक चुनौती र अवसरबारे व्यापक प्राज्ञिक बहस गरेको छ।
"इमर्जिङ् च्यालेञ्जेज इन नेपाल्स बिजनेस इन्भाइरनमेन्ट" (नेपाली व्यवसायिक वातावरणमा उदीयमान चुनौतीहरू) विषयमा भएको गोष्ठी विश्विद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको हो।
गोष्ठीमा वैदेशिक रोजगारी र विप्रेषणका असर, व्यवसायिक क्षेत्रका द्वन्द्वात्मक अवस्था, जोखिम व्यवस्थापन र विमाको भूमिका, साथै परम्परागत द्वन्द्व समाधान अभ्यासजस्ता विषयमा ६ जना विज्ञहरूले अनुसन्धान कार्यपत्र प्रस्तुत गरे।
गोष्ठीको दोस्रो दिन त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गणेशप्रसाद पाठकले संघ संस्थामा द्वन्द्वसम्बन्धी अनुसन्धान कार्यपत्र प्रस्तुत गरे। यस्तै, सहप्राध्यापक डा. रेशम थापाले विप्रेषणसँग सम्बन्धित जोखिम व्यवस्थापनबारे कार्यपत्र पेस गरे।
यसअघि, प्रा.डा. बाबुराम ज्ञवाली, पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. रविन्द्र घिमिरे, क्याम्पसका डा. अशोक भण्डारी र कृष्णकुमार रेग्मीले अनुसन्धान कार्यपत्र प्रस्तुत गरिसकेका थिए।
समापन सत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले क्याम्पसले अझ बढी अनुसन्धनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्राज्ञिकता अभिवृद्धिमा क्याम्पसले उच्च प्राथमिकता दिएको बताए।
अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवालीले अनुसन्धानकर्ताहरूको जिज्ञासायुक्त प्रयासले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा अनुसन्धान व्यवस्थापन समितिका सदस्य माया घिमिरेको सञ्चालनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, शोधार्थी, तथा क्याम्पसका पूर्व प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले कार्यक्रमलाई प्रेरणादायी, ज्ञानदायी र उच्च प्राज्ञिकस्तरको भएको प्रतिक्रिया दिएका छन्।
गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका प्राध्यापक तथा शोधार्थी गरी करिब ६० जनाको सहभागिता रहेको थियो।
प्रतिकृया दिनुहोस