सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।
मिर्चैया नगरपालिका वडा नं. ११ सितापुर गाउँकी ३० वर्षिया रामकाशी यादवलाई शुक्रबार राति सुत्केरी व्यथाले च्यापेपछि बर्धमान अस्पतालमा भर्ना गरिएको थियो । सामान्य रुपमा बच्चा जन्माउन सक्ने अवस्था छैन भन्दै अस्पातालका डाक्टर तेजशंकर यादवले शल्यक्रिया गरेर बच्चा निकालेका थिए ।
दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन् । नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो । पत्नी गुमाएका सन्त यादव भन्छन् ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे । तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे । जब राति २ बज्यो अनि बिराटनगर लैजाउ भनियो ।’
बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई बिराटनगरतर्फ कुदाइयो । तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो । शनिबार बिहान ५ बजे अस्पताल पु¥याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए ।
मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो । हामीले रगत ल्याएर पनि दियौं तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो ।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे ।
अस्तपाल अगाडि मृतकको शव राखेर प्रदर्शन सुरु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारले शल्यक्रिया गर्ने डाक्टरलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक गोविन्द साहका अनुसार यसबारे आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ । तोडफोड हुन नदिन प्रहरी परिचालन गरिएको छ । गम्भीर मामिला भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाबाट नायव प्रहरी उपरीक्षक बीरेन्द्र पासवान पनि घटनास्थलमा पुगेका छन् ।
बर्धमान अस्पतालमा ५ महिना अघि पनि शल्यक्रिया गरेर बच्चा निकालिएको एक सुत्केरीको मृत्यु हुँदा परिस्थिति तनावग्रस्त भएको थियो ।
प्रतिकृया दिनुहोस