काँक्रेविहार (सुर्खेत), २७ वैशाख : कर्णालीका विभिन्न जिल्लामा जन्मिएर यहीँको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाले ‘कर्णाली छोरी सम्मेलन’ मा आफ्ना अनुभव र चुनौतीबारे बहस गरेका छन् ।
श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि सुर्खेतमा सुरु भएको सम्मेलनमा वक्ताहरूले विविध विषयमा चर्चा गरे । त्यसक्रममा नेपाली कांग्रेसकी नेतृ एवं बाट प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले आफ्नो राजनीतिक यात्राको बारेमा सुनाउनुभयो । उहाँले सबैका लागि शिक्षाको नारा कर्णालीका छोरीको हकमा लागू हुन नसकेको तर आफूले भने पढ्न पाएकै कारण राजनीतिमा स्थापित हुन सकेको बताउनुभयो । “मैले बच्चा जन्मिसकेपछि १० कक्षा उत्तीर्ण गरेको हुँ । झोला हुन्थेन, हातमा किताब समात्दै हुर्केको, पढेको हो । मेरो बुबा, आमा, श्रीमान्, जेठाजुको प्रेरणाले नै पढ्न पाएको हो । मैले पढ्दा खासै कर्णालीमा छोरी पढ्दैनथे”, उहाँले भन्नुभयो, “विकासको मुख्य मेरुदण्ड भनेको शिक्षा हो । चेतनाको विकास हो ।”
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ कुन्ति शाहीले महिलाले बोल्नुहुन्न, बोले अनिष्ट हुन्न्छ भन्ने समाजमा हुर्किएका कारण आफूलाई राजनीतिमा स्थापित हुन् सङ्घर्ष गर्नुपरेको बताउनुभयो । “इख राखेर अध्ययन गरियो । मेरो लक्ष्य वकिल बन्ने थियो, हाल वकालत पनि गर्छु तर परिस्थितिले राजनीतिज्ञ बनियो । मेरो बुझाइ राजनीति सेवा हो भन्ने थियो, अहिलेका जस्तो पैँसा कमाउन राजनीति गर्नुपर्छ भन्ने कुरा सिकाइएन”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समाजमा केही परिवर्तन गर्न सकिन्छ भनेर राजनीतिमा आएको सुनाउनुभयो । “आमामाथि गरिएको विभेदले मलाई विद्रोही बनायो । त्यसको समाधान राजनीतिमा देखेँ । विसं २०४६ को बहुदलपछि राजनीतिमा लागेँ । १७ वर्षको उमेरमा जनयुद्धमा होमिए । मर्नकै लागि हामी हिँडेको हो, संयोगले नाफाको जिन्दगी बाँचेको छौँ”, उहाँले भन्नुभयो,“महिलाले परिवार, पार्टी सबै एकैपटक चलाउन सक्छन् भन्ने विश्वासका कारण राजनीतिमा लागियो । म भन्छु कर्णालीका छोरीहरू सक्षम छन्, नयाँ तरिकाले चिन्तन गर्न सक्छन् । हामीले धेरै गरेर देखाउन सक्नुपर्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले बाबुआमाकै असहयोगका कारण विद्रोही भएर आफू राजनीतिमा लागेको बताउनुभयो । “मलाई फिल्म निर्देशक बन्न मन थियो तर समाजमा विनिताले अन्य महिला पनि बिगार्ने भई भन्न थाले । व्यापार गर्न मन लाग्यो तर दुई छोरा छन् भनेर घरबाट असहयोग भयो”, उहाँले सुनाउनुभयो,“कन्भिन्स् गर्न खोजेंँ मानेनन्, अनि कानुन पल्टाएर उहाँहरूसँग आफ्नो अधिकारबारे लड्नुपर्ने अवस्था आयो ।”
नेकपा (एकीकृत समाजवादी) नेतृ कल्याणी खड्काले कर्णालीका छोरीहरूको अवस्था परिवर्तनका लागि एउटा नीति बनाएरै अघि बढ्नुपर्ने बताउनुभयो । “कर्णाली सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । त्यसमा पनि छोरीहरूको मानव संशाधन विकास गर्ने नीतिसहितको बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
---
प्रतिकृया दिनुहोस