जुम्ला, २८ वैशाख : जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो हुनुभएको आयोजकले जनाएको छ ।
कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गर्नुभयो । दोस्रो हुनुभएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी छ घण्टा सात मिनेट ५५ सेकेन्डमा र तेस्रो हुनुभएका सोमबहादुर रावतले छ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गर्नुभएको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी हुनुभयो । दोस्रो हुनुभएकी राज्यलक्ष्मी रावलले आठ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो हुनुभएकी सन्दिभा बुढाले आठ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गर्नुभयो ।
अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले रु एक लाख, प्रमाणपत्र र पदक प्राप्त गर्नुभयो । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार र रु ५० हजार, प्रमाणपत्र र पदक प्राप्त गर्नुभएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो हुनुभयो । दश किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो हुनुभयो ।
पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो हुनुभएको क्लबले जनाएको छ । यस वर्षको दौडमा स्वदेशी तथा विदेशी गरी ५९१ जना धावक सहभागी भएका थिए । साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।
–––
प्रतिकृया दिनुहोस