नवलपुर, गैंडाकोट – आइएमई ग्रुपको लगानीमा निर्मित 'इला होटल तथा रिसोर्ट' २०८२ वैशाख २९ गते सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ।
गैडाकोट नगरपालिका–१, मौलाकाली क्षेत्रमा रहेको यो होटल आधुनिक पूर्वाधारसहितको पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदैछ।
होटल मौलाकाली केबलकारको माथिल्लो स्टेशन नजिकै अवस्थित छ। यहाँ ६५ वटा सुइट तथा डिलक्स कोठा, एक हजार जना क्षमताको बैंक्वेट र कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा, जिम लगायत सुविधाहरू उपलब्ध छन्। सम्पूर्ण संरचना पर्यटकहरूलाई उच्चस्तरीय सेवा दिन तयार गरिएको आइएमई ग्रुपको भनाइ छ।
इला होटलसँगै मौलाकाली क्षेत्रको धार्मिक र प्राकृतिक सम्पदाहरू-जस्तै नारायणी, देवघाट, त्रिवेणी, तपोभूमि आदिको ऐतिहासिक महत्त्वलाई पर्यटकहरूमाझ थप उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यसले स्थानीय रोजगारी र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आइएमई ग्रुपको सञ्जाल विस्तार हुँदै, सातै प्रदेशमा विस्तार, तीनमा सञ्चालन
राष्ट्रवादी उद्याेगी/व्यवसायी चन्द्र प्रसाद ढकालकाे नेतृत्वकाे आइएमई ग्रुपले देशका सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका पर्यटन पूर्वाधार निर्माण गर्ने योजना अघि बढाएको छ। हालसम्म तीन प्रदेशमा केबलकार परियोजना सञ्चालनमा छन् भने दुई ठाउँमा होटलसमेत सञ्चालनमा आइसकेका छन्।
लुम्बिनी केबलकार अन्तर्गत बसन्तपुर टप स्टेसनमा होटल निर्माण प्रक्रिया अघि बढाइएको छ।
सुदूरपश्चिमको कैलालीमा भने केबलकार, होटल र रिसोर्टको निर्माण एकसाथ अगाडि बढिरहेको छ। एक वर्षभित्र केबलकार र त्यसपछिको चरणमा होटल–रिसोर्ट सञ्चालनमा आउने लक्ष्य छ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा समेत केबलकार निर्माण प्रक्रिया सुरु भइसकेको छ।
पर्यटन विकासमा निजी क्षेत्रको अग्रसरता
सरकारको निजी–सार्वजनिक साझेदारी अवधारणासँग मेल खाने गरी आइएमई ग्रुपले पर्यटन पूर्वाधारमा गरेको लगानी प्रशंसनीय मानिएको छ। धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई जोड्ने यी परियोजनाहरूले देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिकृया दिनुहोस