• बिहीबार-जेठ-१-२०८२

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

 

कैलाली, १ जेठः कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

 

    गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताउनुभयो । उहाँले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिनुभयो । “धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक÷दुई दिन बिराएर बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो ।

 

    लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आउनुभएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताउनुभयो । उहाँले दिनमा रु चार हजारदेखि रु सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैदिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गर्नुभयो । 

 

    “उत्पादनको सुरुमा रु ४० देखि रु ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ”, उहाँले भन्नुभयो । 

 

    किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन् । नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस