वर्षेनी हजारौं नेपाली युवा उच्च शिक्षाको नाममा विकसित मुलुकतिर पलायन भइरहेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्सजस्ता देशहरू नेपाली विद्यार्थीको मुख्य गन्तव्य बनेका छन्। तर, यो वैदेशिक अध्ययनको सपना पछाडि लुकेको छ एक गम्भीर आर्थिक र नैतिक संकट-नक्कली कागजात र बैंक स्टेटमेन्टको व्यापक दुरुपयोग।
पढ्न जाने विद्यार्थीहरूलाई विदेशमा भिसा पाउन बैंक स्टेटमेन्ट, आम्दानीको स्रोत र सम्पत्तिको प्रमाण देखाउनुपर्छ। तर, यथार्थमा धेरै विद्यार्थी र उनीहरूलाई विदेश पठाउने कन्सल्टेन्सीहरूले बैंक ब्यालेन्स देखाउन माेटाे रकम लिएर नक्कली कागजात तयार पारिरहेका हुन्छन् ।
बैंक कर्मचारीलाई पनि कन्सल्टेन्सीहरूले घुस दिएर झुटा बैंक स्टेटमेन्ट बनाइ दिन्छन् । बैंक खातामा देखाइएको पैसा असली बचतकर्ताको हो, जसको नाममा समयावधिको समझदारीमा बैंक खातामा पैसा ब्यालेन्स देखाइन्छ।
भिसा प्राप्त भएपछि, विद्यार्थी विदेश उड्नेबित्तिकै त्यसअघि नै कन्सल्टेन्सीले हस्ताक्षर गररे लिएको चेकमार्फत खातामा देखाइएको ब्यालेन्स रकम बैंकमार्फत फिर्ता लिइन्छ। बैंक स्टेटमेन्ट र सम्पत्तिका अन्य कागजात सबै नक्कली हुने भए पनि विदेशी दूतावासहरू त्यसमा भरपरी भिसा दिइरहेका छन्।
देश बाहिरिने, पैसा पनि बाहिरिने
एक जना विद्यार्थीलाई अमेरिका वा अस्ट्रेलिया पढ्न जान करिब २० देखि ३० लाख रुपैयाँसम्म लाग्छ। यो रकम धेरैले बैंकमा घरजग्गा धितो राखेर लिएका ऋणबाट जोहो गर्छन् । २०८०/८१ मा मात्रै १ लाख २ हजारभन्दा बढी नेपालीले शिक्षा भिसामा विदेश गएका छन्। २०८०/८१ काे अघिल्लो आर्थिक वर्षमा यो संख्या ८८ हजार थियो।
विद्यार्थी भिसामा गएका धेरै युवाहरू विदेशमा जागिर(काम) नपाएर मानसिक तनावमा परिरहेका छन्। काम खोज्दै महिनौँसम्म भौतारिनुपर्छ। कतिपयले डिप्रेशनमा परी आत्महत्या समेत गरेका खबरहरू बाहिरिने गरेका छन्। कलेज शुल्क तिर्ने पैसा हुँदैन, काम गर्न पाउन सकिँदैन, परिवारसँग थप खर्च पठाउने क्षमता पनि हुँदैन । यही चक्रव्यूहमा डिप्रेशनमा पर्छन्, आत्महत्यासम्म गर्छन् र कतिपय थुनिन्छन् पनि ।
बैंक ऋण नउठेर डुब्दै बैंक
ऊर्जामन्त्री दीपक खड्काले बैंकहरूबाट १४ अर्ब ऋण लिएको चर्चा छ। उनीमाथि वर्षौंदेखि साँवा ब्याज नतिरेको आरोप लाग्दै आएको छ। बैंकहरूबाट जगदम्ब ग्रुपले ७३ अर्ब ऋण लिएको चर्चा छ । त्यस्तै, दुर्गा प्रसाईंले ११ अर्ब, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ५३ अर्ब रुपैयाँ ऋण लिएको जानकारी सार्वजनिक भइसकेको छ। बैंकका प्रमुख ऋणी यिनै ठूला ठेकदार, व्यापारी, तर ऋण चुक्ता गर्दैनन् ।
जनताको पैसा डुब्ने खतरा
बचतकर्ताले आफ्नो पैसा सुरक्षित हुन्छ भन्ने विश्वासमा बैंकहरूमा राख्छन्। तर बैंककै लापरवाही, राजनीतिक पहुँच र घुस प्रवृत्तिका कारण पैसा डुब्ने जोखिम बढेको छ। पछिल्लो समय सहकारी डुबेको घटनापछि सर्वसाधारणले धमाधम पैसा झिकिरहेका छन्। उनीहरूले बैंकमा भन्दा घरमा पैसा लुकाउन थालेका छन्।
निष्कर्ष
राज्यको ढुकुटी रित्तो हुनुको मुख्य कारण वैदेशिक पलायन र बैंकको अन्धाधुन्ध ऋण प्रवृत्ति हो। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अब ठोस नीति ल्याएर बचतकर्ताको रकम सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्छ। विदेशी भिसा प्रक्रियामा कन्सल्टेन्सीहरूबाट नक्कली कागजातको प्रयोग कडाईका साथ रोक्नुपर्छ। अन्यथा, देशको आर्थिक अवस्था अझै बिग्रँदै जान्छ।
नत्र, गाडी छिटो कुदाएजस्तै छिटो कमाउने लोभमा बैंकहरूले अर्थतन्त्रलाई नै दुर्घटनामा पु-याउने खतरा बढ्दो छ।
प्रतिकृया दिनुहोस