• आइतबार-जेठ-४-२०८२

प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णाेद्धार


तानसेन (पाल्पा), ३ जेठ : जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो । 

 

राणाले तत्कालीन समयमा तानसेनका घरघरमा खानेपानीको धारा भए पनि बाटो हिँड्ने बटुवा, विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि सार्वजनिक धारा निर्माण गरेका थिए । लामो समयसम्म उक्त धारा जीर्ण हुँदा प्रयोगमा आउन सकेको थिएन । अहिले त्यसको जीर्णोद्धार गरी सञ्चालनमा ल्याइएको छ ।

 

वडा कार्यालयको रु एक लाख लागतमा धाराको जीर्णाेद्धार गरिएको हो । राणाले बाझाबाट तानसेनमा पानी ल्याएर टोलटोलमा धारा वितरण गरी तानसेनवासीलाई पानी खुवाएका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

 

लण्डनबाट प्राविधिक झिकाई खानेपानीका धाराहरू निर्माण गरिएको उक्त धारालाई लण्डनधाराको नाम राखिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिबाट उपलब्ध गराइएको धाराको पानीलाई फिल्टरमार्फत परम्परागत धारामा पठाउने प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको वडास्तरीय उपभोक्ता समितिकी अध्यक्ष अनुराधा बज्राचार्यले बताउनुभयो । धारा निर्माण भएसँगै बाटो हिँड्ने सर्वसाधारण, पर्यटकलगायतलाई पानी पिउन सहज भएको उहाँले बताउनुभयो । 

 

नवनिर्मित धाराको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । उहाँले तानसेनमा रहेका ऐतिहासिक धाराहरूको संरक्षणमा स्थानीय सरकारले प्राथमिकतामा राखी जीर्णोद्धार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य वडामा पनि भएका यस्ता धाराको पहिचान गरी आवश्यकताअनुसार जीर्णोद्धार गर्नेर्छौँ ।” ऐतिहासिक संरचनाहरू नगरका गहना भएकाले ती संरचनाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले काम गर्दै आएको उहाँको भनाइ छ । 

 

जनरल प्रतापशमशेरले जिल्लाका विभिन्न ठाउँमा पार्टी, पौवा, धारा, दरबार, चौतारालगायत संरचना निर्माण गरेका छन् । कतिपय संरचना जीर्ण भएर भत्किएका छन्भने केहीको जीर्णोद्धार गरिएका छन् । 

 

हाल सङ्ग्रहालय रहेको पाल्पा दरबारको निर्माण राणाले गरेका थिए । दरबार निर्माणकर्ताको सम्झनामा सर्वसाधारण तथा पर्यटकको जानकारीका लागि अहिले प्रदेश सरकारले राणाको सालिक निर्माण गरेको छ । 

 

यहाँ रहेका अन्य संरचनाको समेत खोजी गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले जोड दिनुभयो । उहाँले भन्नुभयो, “तानसेनमा तत्कालीन सानुराजा प्रताप शमशेरले निर्माण गरेका थुप्रै संरचनाहरू छन्, तिनीहरूको खोजी तथा अनुसन्धान हुन सकिरहेको छैन । त्यस्ता संरचनाको खोजी हुन आवश्यक भएकाले स्थानीय सरकारले चासो देखाउनुपर्छ ।”
---

 

 

प्रतिकृया दिनुहोस