• मंगलबार-जेठ-६-२०८२

मनसुनजन्य विपद् प्रतिकार्यमा तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई निर्देशन


काठमाडौं, जेठ ५ गते।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमाण्डरहरुलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको तयारीमा रहन निर्देशन दिएका छन्।

 

प्रधान कार्यालय हल्चोकबाट  जेठ ४ गते आइतबार आयोजित भर्चुअल बैठकमार्फत एआईजी पौडेलले अघिल्ला वर्षहरूमा भएका विपद्का घटनाहरूको समीक्षा गर्दै सम्भावित विपद् न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।

 

उहाँले विपद् व्यवस्थापनका सामग्रीहरू तयारी अवस्थामा राख्न, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न र समुदाय स्तरमा विपद् सूचक राखी स्वयंसेवक तालिम संचालन गर्न समेत निर्देशन दिएका छन्।

 

अधिकतम प्रभावकारिताका लागि सशस्त्र प्रहरीको जनशक्ति तत्पर राख्नुपर्नेमा जोड दिँदै पौडेलले विपद् भएको स्थानमा छिटो पुगेर उद्धार कार्यमा सक्रिय हुनुपर्ने बताए। यस सम्बन्धमा प्रधान कार्यालयले आधिकारिक परिपत्र समेत जारी गरेको छ।

 

भर्चुअल मिटिङमा सातै प्रदेशका बाहिनीपतिहरूले आफ्नो क्षेत्रमा भइरहेका विपद् उद्धार तयारीबारे जानकारी गराएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ तथा कनिष्ठ अधिकृतहरू र विल्लदार जवानहरूको समेत उपस्थिति थियो।

प्रतिकृया दिनुहोस