रसुवा, जेठ ४ गते। रसुवागढी नाकाबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले झन्डै ७.७ किलो अवैध सुन बरामद गरेको छ। बरामद सुन रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुका २४ वर्षीय किशोर कुमार भुजेलले चलाएको डब्बा कन्टेनर (बा ४ ख ६२०१ नम्बर) बाट फेला परेको हो।
२०८२ साल जेठ ४ गते दिउँसो १:३० बजे तिर गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित चिनियाँ नाका हुँदै नेपाल प्रवेश गर्न लागेको उक्त कन्टेनरलाई प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा रोकेको थियो।
जाँचका क्रममा चालक क्याबिनको ढोकानजिकै भित्री भागमा फल्स बटम (नक्कली तह) बनाई कालो टेपले बेरिएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु फेला परेको हो। तौल गर्दा उक्त धातुको परिमाण ७ किलो ६५३ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानमा उक्त धातु सुन भएको आशंका गरिएको छ।
बरामद सुनसहित कन्टेनरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय, टिमुरे, रसुवा बुझाइएको छ। सुरक्षा निकायले यस घटनालाई गम्भीर रुपमा लिँदै सुन तस्करीको सम्भावित सञ्जालबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
रसुवा नाका चीनसँगको मुख्य व्यापारिक मार्गका रूपमा परिचित रहेको र यसबाट विगतमा पनि पटक–पटक अवैध सुन ओसारपसार हुने गरेको इतिहास रहेको सन्दर्भमा यस घटनाले पुनः तस्करीको जोखिम उजागर गरेको छ। नेपाल प्रहरीकाे कमाण्ड दीपक थापाले सम्हालेपछि तस्करी नियन्त्रणमा नेपाल प्रहरी विशेष रूपमा सकुय भएकाे उदाहरण स्याउकाे कन्टेनरबाट लगभग चार कराेडकाे सुन बरामद गरेबाट पुष्टि हुन्छ ।
प्रहरीका अनुसार सो प्रकरणमा संलग्न व्यक्ति तथा सम्भावित गिरोहबारे थप अनुसन्धान जारी छ।
प्रतिकृया दिनुहोस