नेपाली व्यवसायीको ब्राजिल यात्रा: उद्योग–व्यापारमा सहकार्यको सुरुवात
ब्राजिलमा नेपाली व्यापारिक टोलीको दोहोरो संवाद : लगानीका ढोका खुल्ने संकेत

ब्रासिलिया, ६ जेठ २०८२ । नेपाल–ब्राजिल वाणिज्य तथा उद्योग महासंघ (NBCCI) का अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा गएको नेपाली व्यवसायिक प्रतिनिधिमण्डल अहिले ब्राजिलको भ्रमणमा रहेको छ। आज बिहान उक्त प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरका विषयमा छलफल गरेको खबर छ।
भेटका क्रममा अध्यक्ष चापागाईंले नेपालमा रहेको लगानी तथा व्यापारिक वातावरणको जानकारी गराउँदै नेपाली व्यवसायी समुदाय ब्राजिलियन लगानीकर्ताहरूलाई स्वागत गर्न पूर्ण रूपमा तयार रहेको बताए। उक्त कार्यक्रममा सहभागी नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसाय प्रवर्द्धनका लागि लागू गरेका प्रोत्साहन र नीतिगत सहुलियतबारे जानकारी गराए।
Superintendent for International Relations का रुपमा सहभागी फ्रेडेरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै CNI को तर्फबाट दुवै देशका व्यवसायिक समुदायबीच सहकार्य विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए। दुबै पक्षले आगामी दिनमा आपसी सहकार्यका लागि सम्पर्कमा रहने सहमति जनाए।
त्यसपछि नेपाली प्रतिनिधिमण्डलले Confederation of Commercial and Business Associations of Brazil (CACB) को भ्रमण पनि गरेको थियो। CACB का Superintendent कार्लोस रेसेन्डे र Institutional Consultant सुश्री मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। कार्यक्रममा ब्राजिलको विदेश मन्त्रालयका Minister-Counsellor आल्मिर नासिमेन्तो पनि सहभागी थिए।
ब्राजिलियन पक्षले CACB को संस्था सम्बन्धी कार्यक्षेत्र र प्राथमिकताहरूको बारेमा जानकारी गराउँदै नेपाली व्यवसायिक प्रतिनिधिहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए। अध्यक्ष चापागाईंले नेपालमा रहेका सम्भावित लगानीका अवसरहरूबारे जानकारी गराउँदै दुवै देशका व्यवसायीहरूबीच आपसी लाभको आधारमा सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे। राजदूत काफ्लेले CACB र NBCCI बीचको संस्थागत सहकार्यले नेपाल–ब्राजिल साझेदारीका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे।
दुवै पक्षले भविष्यमा पनि आफ्ना व्यवसायिक सञ्जालमार्फत आवश्यक जानकारी आदानप्रदान गर्ने र सहकार्यका अवसरहरू खोज्ने सहमति गरेका छन्।
प्रतिकृया दिनुहोस