• बिहीबार-जेठ-८-२०८२

राजस्व छली गर्दै चोरी पैठारी गरिएका मोबाइल पार्टपुर्जासहित ८ जना पक्राउ 


काठमाडौं, जेठ ८गते – काठमाडौँ उपत्यकामा चोरी पैठारी गरी मोबाइलका पार्टपुर्जा बिक्री वितरण र भण्डारण गर्ने गिरोह सक्रिय रहेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अपरेशनमार्फत ८ जना व्यक्तिलाई पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय  टेकु, काठमाण्डौंद्वारा पक्राउ परेकाहरूमा सिकन्दर रजा समेत रहेका छन् ।

उनीहरूलाई राजस्व छली गर्दै भारत लगायतका मुलुकहरूबाट अवैध रूपमा ल्याइएको विभिन्न मोबाइल ब्राण्डका पार्टपुर्जा र विद्युतीय सामग्रीसहित पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाएको छ।

च:मती क्षेत्रबाट सुरु, उपत्यकाका विभिन्न स्थानमा छापा


गोप्य सूचनाका आधारमा प्रहरीको टोली काठमाडौंको च:मती क्षेत्रबाट प्रारम्भ गरी उपत्यकाका विभिन्न स्थानमा छापा मार्दै अवैध रूपमा आयात गरिएका सामानहरू बरामद गरेको हो।

बरामद सामग्रीको विवरण यस्तो छः
कम्पनी नखुलेको ब्याट्री जडित मोबाइल डिस्प्ले – ४४० थान

कम्पनी नखुलेको ब्याट्री नभएको मोबाइल डिस्प्ले – १४० थान

Redmi कम्पनीको सेतो ट्याब – १ थान

Apple कम्पनीको MacBook (सेतो रंग) – १ थान

Dell कम्पनीको ल्यापटप (कालो रंग) – १ थान

नेपाली नगद – रु. १,०८,५०० (एक लाख आठ हजार पाँच सय रुपैयाँ)

चार कार्टुनमा रहेको चार्जर केबुलसहित – १,४०० थान

विभिन्न कम्पनीका मोबाइल बट्टामा राखिएका फ्लेक्स (इलेक्ट्रोनिक उपकरण) – ८०० थान (२००x४)

दुई कार्टुनमा राखिएका मोबाइल ब्याट्रीहरू – १,१५० थान

मोबाइलका बटनपत्ता भएको बक्सा – १ थान

सिम ट्रे रहेको बक्सा – १ थान

ब्याक फ्ल्यास भएको बक्सा – १ थान

क्यामेरा पार्ट्स रहेको बक्सा – १ थान

विभिन्न कम्पनीका मोबाइल – ८ थान

सूत्रका अनुसार यस्ता कार्य संगठित तवरले हुँदै आएको आशंका


प्रहरी स्रोतका अनुसार, गिरोहले लामो समयदेखि भारत तथा अन्य मुलुकबाट भन्सार नतिरी चोरी पैठारी गरेका मोबाइल पार्टपुर्जाहरू काठमाडौंका विभिन्न पसल तथा गोदाममा भण्डारण गर्दै आएको पाइएको छ।

स्रोतका अनुसार पक्राउ परेकाहरूले ती सामानहरू पसलहरूमा वितरण गर्ने तथा विक्रीको लागि विभिन्न स्तरमा ‘नेटवर्क’ चलाइरहेको समेत खुलेको छ।

राजस्व अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान थाल्याे 
पक्राउ परेकाहरूलाई आवश्यक प्रमाणसहित राजस्व अनुसन्धान विभाग पठाइएको र प्रारम्भिक अनुसन्धान थालिएको छ। विभागले राजस्व अपचलन, कर छलि, र आर्थिक अपराध अन्तर्गत अनुसन्धान अघि बढाएको बुझिएको छ।

प्रतिकृया दिनुहोस