गर्मी मौसमले शरीरमा धेरै परिवर्तन ल्याउँछ । तापक्रम बढ्दै जाँदा डिहाइड्रेसन, पाचन समस्या र पेटको समस्याहरु सिर्जना हुनसक्छ । यस्तो अवस्थामा बिहानको पहिलो खाना धेरै विशेष हुन्छ । किनकि यसले पाचन प्रणालीलाई असर गर्छ । यदि बिहान शरीरलाई शीतलता दिने, पेट सफा राख्ने र पाचनमा मद्दत गर्ने केही खानेकुराहरू खाएमा गर्मीको समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । विज्ञहरूका अनुसार बिहान भिजेको चना, सर्वत र ताजा दही जस्ता चीजहरू खानाले पेटको लागि रामवाण औषधिको रूपमा काम गर्छ । यसले शरीरलाई शीतल पार्ने मात्र होइन, पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । साथै, पेटमा ग्यास, एसिडिटी, जलन र पेट दुख्ने जस्ता समस्याबाट राहत दिन्छ ।
भिजेको चना : भिजेको कालो चनामा फाइबर, प्रोटिन र आइरन प्रशस्त मात्रामा पाइन्छ । रातभर पानीमा भिजाएर बिहान खाली पेटमा खाँदा पाचन शक्ति बलियो हुन्छ र पेट लामो समयसम्म भरिएको महसुस हुन्छ । यसले कब्जियतको समस्या हटाउँछ र पेट भित्रबाट सफा गर्छ । गर्मीमा भिजाइएको चनाले शरीरलाई पनि शीतल राख्छ ।
बिहान ताजा दही : दही प्रोबायोटिक्सको उत्कृष्ट स्रोत हो । यसले आन्द्राको स्वास्थ्यमा सुधार ल्याउँछ । गर्मीमा ताजा र चिसो दही खाँदा पेट शीतल रहन्छ र पेटमा एसिडिटी र ग्यास जस्ता समस्या कम हुन्छ । बिहानको खाजामा फलफूल वा भुटेको जिरासँग दही खानु अझ फाइदाजनक हुन्छ । पाचन सुधार गर्नुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ ।
सातु : गर्मी महिनामा सातु मिसाएर सर्वत बनाएर खानु एकदमै उपयुक्त मानिन्छ । पानी, कागती, थोरै नुन वा गँुड मिसाएर झोल बनाउने र त्यसलाई पिउनाले शरीरलाई शीतलता प्रदान गर्ने र डिहाइड्रेशनबाट बचाउने काम गर्दछ । सातुमा फाइबर र प्रोटिन प्रशस्त पाइन्छ, जसले पेट लामो समयसम्म भरिएको राख्छ र ग्यास वा छाती पोल्ने समस्याबाट राहत दिन्छ । बिहान सबेरै एक गिलास सातुको सरबत पिउनाले दिनभरि हलुका र शीतल महसुस हुन्छ ।
केरा : केरा पोटासियम, फाइबर र भिटामिनको राम्रो स्रोत हो । बिहान सबेरै केरा खाँदा शरीरमा ताजापन आउँछ र पेट लामो समयसम्म भरिएको रहन्छ । यसले कब्जियत कम गर्न र पाचन सुधार गर्न मद्दत गर्छ । गर्मीमा केराले पेटलाई शीतल राख्न मद्दत गर्छ र शरीरको ऊर्जा पनि कायम राख्छ । मधुमेह भएको अवस्था छ भने धेरै पाकेको केरा नखानु नै उपयुक्त हुन्छ ।
मनतातो पानीमा कागती र मह : बिहान सबेरै मनतातो पानीमा कागती र मह मिसाएर पिउने बानीले शरीरलाई डिटोक्सिफाइ गर्ने मात्र होइन, पाचन प्रणालीलाई पनि सक्रिय बनाउँछ । गर्मीमा, यो पेय पदार्थले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पेटको गर्मीलाई शान्त पार्छ । साथै, यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ र पेट फुल्ने समस्याबाट राहत दिन्छ ।
गर्मीमा पेटलाई स्वस्थ र हलुका राख्नु महत्वपूर्ण हुन्छ किनकि गर्मीमा पाचनसम्बन्धी समस्या धेरै हुन्छन् । त्यसैले बिहान यी चिजहरु सेवन गर्दा पेटको समस्याबाट बच्न सकिन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस