• शुक्रबार-जेठ-९-२०८२

युवा संघको महाधिवेशनमा दुई भाञ्जा र एक थेबे : अध्यक्षका लागि सत्ता र सञ्जालको लविङयुद्ध

अहिलेकै अध्यक्ष थेबे : ओलीको सन्देश र सम्भावनाको पुनरागमन


 पोखरा, २०८२ जेठ ९ गते  । एमालेको भातृसंगठन युवा संघ नेपालको पोखरामा सुरु भएको महाधिवेशन एकाएक ‘भाञ्जा महाधिवेशन’का रूपमा चर्चित बन्दै गएको छ। कारण-अध्यक्षको दावी  प्रस्तुत गरिरहेका दुई प्रमुख नाम एमाले नेताहरूका भाञ्जा भएको खुलासासँगै महाधिवेशन नेतृत्वको प्रतिस्पर्धाभन्दा पनि शक्ति र सञ्जालको लडाइँ बनेको छ।

( दाेहाेरिने चाहनामा युवा संघ नेपालका वर्तमान  अध्यक्ष क्षितिज थेबे पनि )

 

भाञ्जा नम्बर १: महाराजा गुरुङ- पार्वत गुरुङको सञ्जाल


महाधिवेशनका अध्यक्षका दाबेदारमध्ये एक महाराजा गुरुङ, हालका युवा संघ उपाध्यक्ष हुन् । उनी एमाले सांसद तथा पूर्वमन्त्री पार्वत गुरुङका भाञ्जा हुन् ।


एमाले स्रोतका अनुसार, पार्वत गुरुङले आफ्ना भाञ्जालाई अघि बढाउन प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालमार्फत सक्रिय लविङ गरिरहेकाे युवा संघ स्राेत बताउछ ।  गुरुङको दाबी ओली लाइनका संरचनात्मक सञ्जालमा टेकेको देखिन्छ, जसले उनलाई संगठनको ‘अपेक्षित अनुहार’ बनाउन सक्छ।

 

भाञ्जा नम्बर २: सुमन गिरी-लीला गिरीको गहिरो सम्बन्ध


अर्का अध्यक्ष पदका आकांक्षी हुन् सुमन गिरी, हालका महासचिव । उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता लीला गिरीका भाञ्जा हुन् ।


स्रोतका अनुसार, सुमन गिरीको अभियान एमाले उपाध्यक्ष विष्णु पौडेलको सक्रिय पहलमा अगाडि बढाइएको स्राेतकाे दावी छ ।

 

याद रहोस्, लीला गिरीलाई मुख्यमन्त्रीबाट हटाएर चेतनारायण आचार्यलाई बनाइएको घटनाले एमालेभित्रको गहिरो गुटगत द्वन्द्व सतहमा ल्याएको थियो। त्यस घटनामा गिरी पौडेल निकट र आचार्य शंकर पोखरेल निकट मानिएका थिए। त्यसैले, अहिले सुमन गिरीको अध्यक्षीय दाबी एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनसँग पनि प्रत्यक्ष जोडिएको देखिन्छ।

 

अहिलेकै अध्यक्ष थेबे : ओलीको सन्देश र सम्भावनाको पुनरागमन


भाञ्जाहरूको होडबाजीका बीच, अहिलेका अध्यक्ष क्षितिज थेबे पनि प्रतिस्पर्धामा टिकिरहेकै छन्। केपी ओलीले “चुनाव नगर, सहमति गर” भन्ने सन्देश दिएपछि थेबेको निरन्तरता सहज देखिन थालेको हो। ओलीको यो संकेतले युवासंघभित्रका आन्तरिक समीकरणलाई फेरि उल्ट्याउन सक्छ।

 

नेतृत्वको प्रतिस्पर्धा कि गुटगत सन्तुलनको ‘सेटिङ’ ?


महाधिवेशनमा देखिएको तीनमुखी प्रतिस्पर्धा केवल नेतृत्व परिवर्तनको प्रयास मात्र होइन, एमालेभित्रको शक्ति-सन्तुलनको परीक्षणसमेत हो।

गुरुङलाई पार्वत गुरुङ र ओली सर्कलको समर्थन,

गिरीलाई पौडेल–लीला गिरी सर्कलको रणनीतिक समर्थन,

थेबेले ओलीकै निरन्तरताको लाइन समात्न खोजेको अवस्थाले गर्दा युवासंघको अध्यक्ष पद एमालेका शीर्ष नेताहरूको ‘प्रतिनिधिमूलक शक्ति केन्द्र’ बन्ने देखिन्छ।

 

निष्कर्ष : युवाहरूको नेतृत्व कि नेताहरूका भाञ्जाहरूको प्रतिस्पर्धा ?


संगठनको नाम युवा संघ भए पनि नेतृत्वको लडाइँ नेताहरूका नातेदारहरूबीच सीमित हुन थालेपछि बहस उठेको छ- "के युवा संघ साँच्चिकै स्वतन्त्र युवा नेतृत्व उत्पादन गर्ने थलो हो त, वा नेताहरूको सन्देश पुर्‍याउने यन्त्र ?"

 

साँघु न्यूज डटकमले बुझ्दा, महाधिवेशनको समापनसम्म यो प्रश्नको जवाफ सायद चुनावको नतिजाले दिनेछ-भाञ्जा कि थेबे नै ? सञ्जाल कि संगठन ?

प्रतिकृया दिनुहोस