• शुक्रबार-जेठ-९-२०८२

‘रोजगारीको सुनौलो सपना’ देखाउने प्रविन : दुई युवालाई कुवेत पठाउने झुटको व्यापार

समाजको साझा प्रश्न: सपना बेच्नेहरू कहिलेसम्म ?


काठमाडौं,  । "कुवेतमा राम्रो जागिर छ। तलब मासिक १,२०,००० रुपैयाँसम्म। बस्ने खाने कम्पनीले बेहोर्छ। जान चाहनुहुन्छ ?" – यही मीठो प्रस्तावले दुई युवाको मन बहकियो। थोरै पैसा खर्चिएर विदेश जान पाइने लोभमा उनीहरूले आफ्नो जीवनको पाँच-पाँच लाख रुपैयाँ सुम्पिए। तर, विदेशको बाटो खुल्ने त के, पैसा गएपछि ‘एजेन्ट’ नै हरायो।

 

यसरी सुनौलो सपना देखाएर ठगी गर्ने २७ वर्षीय प्रविन कुमार मण्डल अन्ततः प्रहरीले पक्राउ गरेका छन्। सप्तरी हनुमाननगर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ मा बसोबास गर्दै आएका मण्डललाई २०८२ जेठ ९ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गर्‍यो।

 

झुटको बजार र मौन पीडाहरू


पीडितहरूका अनुसार मण्डल केही समयदेखि आफूलाई वैदेशिक रोजगारका काममा अनुभवी एजेन्टका रूपमा प्रस्तुत गर्दै आएका थिए। उनले वैध अनुमति र अनुभव रहेको झुटो दावी गरेर युवायुवतीहरूलाई आकर्षक रोजगारी दिलाइदिने लोभ देखाउँथे। दुई जना पीडितसँग उनले कुवेत पठाउने नाममा पाँच लाख रुपैयाँ असुली गरे, तर समय बित्दै जाँदा न टिकट आयो, न भिसा, न त मण्डलसँग सम्पर्क नै।

 

"हामी लगातार फोन गर्थ्यौं, कहिले फोन उठाउँथे, कहिले मोबाइल बन्द। कहिले भोलि भन्छन्, कहिले परसि। अन्ततः एक दिन सम्पर्कै टुट्यो," एक पीडितले आँखा रसाउँदै भने।

पक्राउपछि प्रस्टियो ठगीको स्वरूप


पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गर्‍यो। प्रारम्भिक अनुसन्धानबाट मण्डलले वैदेशिक रोजगारको नाममा केवल प्रलोभन देखाएर पैसा असुल्ने मात्रै काम गरेको खुल्यो। वैध प्रक्रिया, कागजात, रोजगार अनुमति, केही थिएन। उनले पुराना भिजिट कार्ड र कागजात देखाउँदै विश्वास जित्ने प्रयास गर्थे।

 

पक्राउ परेपछि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ। त्यहाँबाट थप अनुसन्धान गरी ठगी मुद्दा अगाडि बढाइने जनाइएको छ।

 

केवल दुई पीडितमात्रै ?


प्रहरीको आशंका छ-पीडितको संख्या दुईभन्दा धेरै हुन सक्छ। वैदेशिक रोजगारीको सपना देखाएर ठगिनेहरू प्रायः डरका कारण उजुरी दिन अघि सर्दैनन्। मण्डलका जस्ता ठगहरूको चाल यही हो – डर र भरोसाको दोहोरो उपयोग। प्रहरीले अन्य सम्भावित पीडितहरूलाई पनि अगाडि आउन अपिल गरेको छ।

 

समाजको साझा प्रश्न: सपना बेच्नेहरू कहिलेसम्म ?


यस घटनाले फेरि देखाएको छ-बेरोजगारीको चपेटामा परेका युवाहरू कति सजिलै ठगहरूको सिकार हुन्छन्। सपनाको व्यापार गर्नेहरू अझै बजारमा छन्। प्रविन मण्डल पक्राउ परे, तर यस्ता प्रविनहरू अझै धेरै होलान्।

प्रश्न उब्जिन्छ -वैदेशिक रोजगारीको नाममा हुने ठगी र मानव तस्करीविरुद्ध राज्यको निगरानी कति प्रभावकारी छ ?

प्रतिकृया दिनुहोस