काठमाडौं, जेठ १० । नेपालका पर्यटकीय प्रदेशमध्ये कोसी प्रदेशले आफ्नो छुट्टै छवि बनाउँदै लगेको छ। प्राकृतिक सौन्दर्यदेखि धार्मिक, सांस्कृतिक र साहसिक पर्यटक गन्तव्यहरूसम्म सबै समेटिएको यो प्रदेशलाई अब ‘पर्यटनको खानी’ भन्न सकिन्छ। सांसद तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईको भनाइमा, “कोसी प्रदेश अरु कुनै पनि प्रदेशभन्दा पर्यटकीय हिसाबले सम्पन्न छ।”
‘कोसी प्रोजेक्ट शो केस’ को फाइनल चरण उद्घाटन गर्दै भट्टराईले कोसी प्रदेशको आर्थिक समृद्धिको मूल आधार पर्यटन नै हुनसक्ने विश्वास व्यक्त गरे। नेपालको सबैभन्दा होचो भू-भाग केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा समेटिएको यस प्रदेशको भौगोलिक विविधता आफैँमा अद्वितीय छ।
भट्टराईले थपे, “अरु प्रदेशमा एउटा पक्ष मात्रै प्रबल देखिन्छ-कुनैमा संस्कृति, कुनैमा प्राकृतिक सौन्दर्य, तर कोसीमा यी सबै पक्षहरू गासिएका छन्। यही कारण कोसी प्रदेश भविष्यको पर्यटकीय राजधानी बन्न सक्छ।”
विद्यार्थीको दृष्टिकोणमा ‘टुरिज्म इन्जिनियरिङ’
कोसी प्रोजेक्ट शो केस प्रतियोगिता भने कोसी प्रदेशलाई नयाँ दृष्टिकोणबाट हेरिएको प्रयास हो। सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूले प्रोजेक्ट तयार गरेर विभिन्न पर्यटकीय गन्तव्यहरूको पुनर्कल्पना गरेका छन्।
एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार, “यो प्रतियोगिता पर्यटकीय सम्भावनाको भविष्य निर्माण गर्ने प्रयोगशाला हो।”
प्रतियोगितामा सहभागी १० उत्कृष्ट टोलीले डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानी टार, अन्तु इलाम, माई पोखरी, लिखु ओखलढुंगा, मुन्धुम सर्किट लगायत स्थानलाई नविन अवधारणाबाट पुनर्रचना गर्दै प्रस्तुति दिएका छन्। यी टोलीहरूले गरेका स्थलगत अध्ययन र प्रतिवेदनहरू अब लगानीकर्ताहरूसँग जोडिने छन्।
भारत–चीन जोड्ने पर्यटन सम्भावना
कोसी प्रदेशको अर्को सम्भावना भनेको अन्तर्राष्ट्रिय कनेक्टिभिटी हो। सांसद भट्टराईका अनुसार, भारतको बिहार र चीनको तिब्बतलाई तीन सय किलोमिटरको अन्तरालमा जोड्न सकिने कोसी प्रदेश एक प्रकारको ट्रान्स-हिमालयन गेटवे बन्न सक्छ।
उनले भनें, “बिहारलाई केन्द्र बनाएर पर्यटक भित्र्याउने रणनीति सफल भयो भने पूर्वी नेपालको आर्थिक मुहार फेरिन सक्छ।”
साहसिक पर्यटन : एड्भेन्चरको अर्को नाम
कोसी प्रदेश साहसिक पर्यटनको लागि पनि उत्तिकै उर्बर छ। प्याराग्लाइडिङ, र्याफ्टिङ, पदयात्रा, मेडिटेसनदेखि क्लाइम्बिङसम्मका गतिविधिहरू यहाँ सम्भव छन्। ताप्लेजुङदेखि दार्चुला जोड्ने ट्रेकिङ रुटसमेत पर्यटन विकासमा क्रान्तिकारी कदम हुनसक्छन्।
समाप्तिमा–
‘कोसी प्रोजेक्ट शो केस’ प्रतियोगिताको अन्तिम चरण जेठ ११ गते आइतबार समापन हुँदैछ। विजेताहरूले नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हात पार्नेछन् । तर, यो प्रतियोगिता सिध्याएर अन्त्य हुने होइन, बरु कोसी पर्यटन पुनःनिर्माणको सुरुवात मात्र हो।
यही परियोजनाको माध्यमबाट ‘कोसी-नेपालको पर्यटन राजधानी’ बन्ने सपना एक पाइला नजिक आएको छ। अब आवश्यकता छ-नीति, लगानी र निरन्तरताको।
प्रतिकृया दिनुहोस