• आइतबार-जेठ-११-२०८२

प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको सम्मानपूर्वक बिदाइ


काठमाडौं, जेठ ११ । उमेर हदका कारण सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको सम्मानमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा जेठ ११ गते आइतबार विशेष बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सेवानिवृत्त अधिकारी आचार्यलाई मायाको चिनो प्रदान गर्दै उहाँले संगठनमा देखाएको निष्ठा, इमानदारी, व्यावसायिकता र कर्तव्यपरायणताको उच्च प्रशंसा गर्नुभयो।

 

सो अवसरमा एआईजी आचार्यले प्रहरी सेवामा रहँदा हासिल गरेका अनुभवहरू बाँड्दै, संगठनबाट पाएको अवसरप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रहरी निरीक्षक पदबाट वि.सं. २०५२ कात्तिक २७ गते सेवामा प्रवेश गर्नुभएको थियो।

 

बिदाइ समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू (डीआईजी) र वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

 

एआईजी आचार्य ३२ वर्षे लामो सेवा जीवनपछि जेठ १० गतेदेखि औपचारिक रूपमा सेवा निवृत्त हुनु भएको हो।


२०५२ सालमा प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका आचार्यले अनुसन्धान, शान्ति सुरक्षा, मानव स्रोत व्यवस्थापन र संगठनात्मक सुधारका क्षेत्रमा उल्लेखनीय भूमिका निभाएका थिए। विभिन्न संवेदनशील जिल्लामा नेतृत्वदायी भूमिका निभाउँदा उहाँले कानुनी मर्यादा र मानवीय मूल्यहरूलाई सधैं प्राथमिकता दिनुभएको थियो।

 

कार्यक्रममा आईजीपी थापाले आचार्यलाई "प्रहरी संगठनभित्र अनुशासन र सेवा भावको प्रतीक" भन्दै प्रशंसा गर्नुभयो। थापाले भन्नुभयो, “एआईजी आचार्यले संगठनलाई इमानदारी, निष्ठा र लगनशीलताका साथ सेवा गर्नुभएको छ, जुन भावी प्रहरी अधिकृतहरूका लागि प्रेरणाको स्रोत बन्नेछ।”

 

बिदाइ समारोहमा आचार्यले सेवा अवधिभरका अनुभव सुनाउँदै नेपाल प्रहरीबाट प्राप्त साथ, सहयोग र सम्मानप्रति आभार प्रकट गर्नुभयो। उहाँले भने, “प्रहरी सेवा जीवन मेरो लागि जिम्मेवारी र अवसरको संगम थियो।”

प्रतिकृया दिनुहोस