काठमाडौ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ को भिडिओ लोकार्पण भएको छ । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा आज सम्पन्न एक भव्य समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो । कार्यक्रम गीतकार सङ्घ नेपालले आयोजना गरेको हो ।
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को छायाँङ्कन, सम्पादन तथा निर्देशनमा तयार भएको हो भने लोकश भाटले सह सम्पादन र भीएफएक्सको काम गरेका छन् । भिडिओकी निर्मात्री सरला रिजाल हुन् । गीत तथा भिडिओले मृ*त्यु पछिको अङ्गदानको महत्वलाई गहिरो ढङ्गमा प्रकाश पारेको छ । मृत्यु पछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरु दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडिओमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ । भिडिओमा गीतकार डा.भोला रिजाल, डा.रिता गुरुङ, डा.भगवान कोइराला, डा.पुकारचन्द्र श्रेष्ठ, डा.ज्योतिन्द्र शर्मा लगायतको जीवन्त अभिनय रहेको छ ।
डा.भोला रिजाल शब्द, सङ्गीत र स्वरका त्रिवेणी प्रतिभा हुन्। उनले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो । डा. रिजालकै रचना,सङ्गीत र स्वरमा रेकर्ड भएको यो गीत उनको साङ्गीतिक इतिहासको दस्तावेज नै बनेको छ ।
डा. रिजाल वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन्। उनी सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय थिए। साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उनको विशेष रुचि थियो। एसएलसीको तयारी गर्दैगर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो । कला र साहित्यको वंशाणुगत गुण लिएर आएका डा. भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो ।
९ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गरेका डा. रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गरेका थिए। हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उनको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गर्थ्यो । एसएलसीपछि आईएस्सी पढ्न वनारस गएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिएका थिए । अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करीब ६ दशक पुगिसकेको छ । पेसाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहेका कलाकार/सर्जक रिजालका मेरो पौवा पाटी, ईश्वर आफैं बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारङ्गीको तार टुट्यो, यात्रा, पपकर्न लगायतका १३ वटा गीति एल्बम प्रकाशन भैसकेका छन् । त्यस्तै उनले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता ८ वटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गरेका छन्। यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।
डा. रिजालका मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शीरमा टोपी राखें, भागेर भए पनि आऊ जस्ता दर्जनौं हिट गीत रहेका छन् । डा. रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहेका छन् । भिडिओ लोकार्पण समारोहमा डा. पुकार श्रेष्ठ, डा. सुधिर शर्मा, गीतकार तथा स्वास्थ्यकर्मी सरला श्रेष्ठ, वरिष्ठ पत्रकार जिबराम भण्डारी, देउराली जनता फार्मेशीका अध्यक्ष हरिभक्त शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी एवं गीतकार सुमन बैरागी पण्डितले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस