• शुक्रबार-जेठ-१६-२०८२

कोटिहोममा कृष्णराजले बजाए आठ मिनेट २५ सेकेण्ड शंख


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ ।

 

पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटिहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटिहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ । 

 

शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् । कोटिहोममा उदघोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश्वकै तेस्रो व्यक्ति भएका छन् । 

हालसम्म भारत त्रिपुरा राज्यको अम्वासाका सम्राट वसादले ५५ मिनेट २७ सेकेण्ड, भारतकै शम्भुकुमारले ५१ मिनेट ०३ सेकेण्ड लामो शंख बजाएका थिए । यस्तै भारतकै अनुज तिवारीले आठ मिनेट दुई सेकेण्ड लामो शंख बजाएर चौथो स्थानमा रहेको बताइन्छ ।

 

लामो शंखघोष गरेका अधिकारीलाई कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराज र अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाले सम्मान गरेका थिए । कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका छन् । 

 

प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार बिहीबार बिदाको दिन परेकाले दुई लाख भक्तजन सहभागी भए । कोटिहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटिहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

 

 

प्रतिकृया दिनुहोस