इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कोशी प्रदेशका जिल्ला र स्थानमा लक्षित गरिएका विभिन्न महत्त्वाकाङ्क्षी समेत देखिने योजना समावेश गरिएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासदेखि ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद र शैक्षिक क्षेत्रमा कोशी प्रदेशलाई समेटिएको देखिन्छ । सोही आधारमा अर्थमन्त्रीले बिहीबारको सदनमा तोकेरै प्रस्तुत गरेका मुख्य योजनाहरूमा कोशी प्राथमिकता परेको छ ।
खेलकुद र पूर्वाधार
बजेट वक्तव्यमा झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला निर्माण गरिने उल्लेख छ । जसले सबै प्रकारका खेल गतिविधि सञ्चालन गर्न सक्ने क्षमता राख्नेछ । यसबाहेक, सोलुखुम्बुमा उच्च उचाइमा खेल खेल्न सकिने ‘हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम’ निर्माण गरिने योजना पनि बजेटमा समावेश छ ।
सिचाइ र लिफ्ट सिँचाइ
सुनसरी र मोरङका सिँचाइ आयोजनाको पुनर्निर्माण हुने र पहाडी क्षेत्रका किसानलाई सहयोग पुग्ने गरी लिफ्ट सिँचाइको व्यवस्था गरिने बताइएको छ ।
यातायात पूर्वाधार
रानी–इटहरी व्यापारिक मार्गको निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । साथै कोशी कोरिडोरको विस्तार, अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवाघाट सडक निर्माण, तमोर कोरिडोर र दमक–चिसापानी सडक स्तरोन्नति, मेची राजमार्ग मर्मत तथा निर्वाचन क्षेत्र विशेष सडक निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ । यस्तै धरान लेउती सुरुङ मार्गका लागि समेत स्रोत व्यवस्थापन गरिएको मन्त्री पौडेलले उल्लेख गरेका छन् ।
रेलमार्ग, केवलकार र हवाई सेवा
काँकडभिट्टा–इटहरी रेलमार्गको अधिग्रहण गरिएको जमिन फुकुवा गरिनेछ भने झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ । तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका लागि आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिनेछ । मन्त्री पौडेलका अनुसार पहाडी क्षेत्रमा केवलकार निर्माणका लागि सहजीकरण गरिने छ ।
पर्यटन प्रवर्धनमा नयाँ योजना
कोशीटप्पुदेखि सगरमाथा पदमार्गको विकास र केचना–पाथीभरा पदमार्ग सञ्चालन गरिने छ । साथै, कोशी नदीमा ¥याफ्टिङलगायतका पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्र
प्रत्येक प्रदेशमा स्थापना गरिने भनिएको जलन अस्पताल निर्माण योजनामा कोशी प्रदेश पनि परेको छ ।
शिक्षा र अनुसन्धान
संखुवासभामा विदुषी योगमाया आयुर्वेद हिमालयन विश्वविद्यालयको निर्माणका लागि बजेट व्यवस्था गरिएको छ, जसले पूर्वी नेपालको शैक्षिक र आयुर्वेदिक क्षेत्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
ऊर्जा क्षेत्र
दूधकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने घोषणा गरिएको छ । यस आयोजनाले पूर्वी नेपालको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस्तै सुनसरीमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस