• शनिबार-जेठ-१७-२०८२

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आईफोन निर्यात ७६ प्रतिशतले बृद्धि

 

काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ । एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आईफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ ।

 

बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो ।

 

सीएनबीसीको रिपोर्टका अनुसार यो पहिलो पटक हो कि भारतले आईफोन निर्यातमा चीनलाई लगातार उछिनिरहेको छ, विशेष गरी अमेरिकी बजारमा । ओम्डियाका अनुसन्धान प्रबन्धक ले जुआन चिउका अनुसार एप्पलले पहिलेदेखि नै यस्तो व्यापार अवरोधहरूको लागि तयारी गरिरहेको थियो । गत अप्रिलमा भएको वृद्धि रणनीतिक भण्डारणको परिणाम हो, जुन ट्यारिफ बृद्धि हुनु अघि गरिएको रणनीति हुन सक्छ ।

 

हाल अमेरिकामा हरेक त्रैमासिकमा करिब २ करोड आईफोनको माग छ। भारतले यति ठूलो मागलाई पूर्णरूपमा सम्हाल्न नसके पनि त्यसको अंश भने निरन्तर बढाइरहेको छ । यदि एप्पलले अमेरिकामा मात्र आईफोन बनाउँछ भने यसको लागत धेरै उच्च हुन्छ । एक अनुमान अनुसार अमेरिकामा बनेको आईफोनको मूल्य ३,५०० डलर  पर्न  सक्छ किनभने त्यहाँ कुनै पूर्ण आपूर्ति श्रृंखला छैन् ।


वेडबश सेक्युरिटीजका टेक्नोलोजी रिसर्चका प्रमुख ड्यान इभ्सले अमेरिकामा आईफोन बनाउनु एउटा काल्पनिक कुरा भएको बताए । एसियामा जस्तै अमेरिकामा पनि जटिल सप्लाई चेन निर्माण गर्न निकै महँगो र गाह्रो हुने उनको विश्वास छ ।


विज्ञहरू भन्छन् कि यदि एप्पलले आफ्नो आपूर्ति श्रृंखलाको १० प्रतिशत पनि अमेरिकामा सार्न चाहन्छ भने कम्तिमा तीन वर्ष ३० अर्ब डलर खर्च गर्नु पर्नेछ । एप्पलका सीईओ टिम कुकले आफ्नो भर्खरको त्रैमासिक बैठकमा अमेरिकामा बिक्री हुने अधिकांश आईफोनहरू भारतमा बनाइने जनाइसकेका छन ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई चेतावनी दिएका छन् कि यदि आईफोन अमेरिकामा बनाइएन भने, एप्पलका उत्पादनहरूमा २५ प्रतिशत र ईयूबाट आयातमा ५० प्रतिशत कर लगाइनेछ । 


स्रोतका अनुसार भारतको कम लागत र प्रतिस्पर्धी उत्पादन क्षमता एप्पल जस्ता ठूला टेक ब्रान्डका लागि आकर्षणको केन्द्र बनेको छ । एप्पलले भारत सरकारलाई ‘मेक इन इन्डिया’ अभियानलाई अगाडि बढाउन स्थानीय उत्पादन बढाउने आश्वासन दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस