• शनिबार-जेठ-१७-२०८२

सशस्त्र प्रहरीको तत्परतामा नारायणीको टापुमा फसेका २२ जनाको सकुशल उद्धार 

२०८२ जेठ १६, चितवन ।  चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा आज विहान आकस्मिक रूपमा पानीको बहाव बढेपछि फसेका २२ जनाको सशस्त्र प्रहरी बल नेपालद्वारा सकुशल उद्दार गरिएको छ।

स्थानीय स्तरमा नदी किनार नजिकैको बाँध कटान भई नदीको बीच भागमा बनेको अस्थायी टापुमा उनीहरू फसेका थिए। ती सबै जना नदीबाट गिट्टी, बालुवा उत्खनन गर्दै गर्दा अचानक पानीको सतह बढेपछि बिचको टापुमा अलपत्र परेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा खटिएको गोताखोर टोली तत्काल उद्धार कार्यमा खटिएको थियो । उद्धार टोलीले मोटरबोटको सहायता लिई फसेकाहरुलाई सुरक्षित रूपमा नदी पार गराएको हो ।

 

सशस्त्र प्रहरीको सक्रियता र तालिमप्राप्त गोताखोर टोलीको चुस्त तयारीका कारण कुनै पनि मानवीय क्षति नभएको पुष्टि भएको छ। उद्दार गरिएकामध्ये अधिकांश स्थानीय मजदुरहरू रहेको बताइएको छ ।

 

तर, घटनास्थलमा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाढीमा बगेर डुबेको पुष्टि भएको छ। घटनाबारे थप विवरण संकलन भइरहेकाले प्रारम्भिक क्षतिको मूल्याङ्कन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

स्थानीय प्रशासनले यस्ता जोखिमयुक्त कार्यका लागि सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हालैका दिनमा अविरल वर्षाका कारण नदीहरूमा पानीको बहाव असामान्य रूपले बढ्न सक्ने चेतावनी दिएको छ।

 

सुरक्षा सतर्कता जरुरी


नदीजन्य क्षेत्रमा काम गर्ने मजदुर र व्यवसायीहरूलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आह्वान गरेको छ। साउन–भदौजस्तो बाढीको उच्च जोखिम हुने मौसम नहुँदा–नहुँदै यस्तो घटना घट्नुले सुरक्षा उपायप्रति थप गम्भीर हुनुपर्ने संकेत दिएको छ ।

 

(साँघु न्यूज डटकमका लागि चितवन प्रतिनिधि)

प्रतिकृया दिनुहोस