• सोमबार-जेठ-१९-२०८२

५४ वर्ष अघिका झापा विद्रोहका क्रान्तिकारी योध्दाहरू एउटै टेबुलमा


२०८२ साल जेठ १७ गतेको  दिन। काठमाडौंको सितापाइला स्थित एक सानो पारिवारिक घरमा इतिहास दोहोरिएको थियो । ०२८/०३० सालका झापा विद्रोहमा होमिएका क्रान्तिकारी पात्रहरू, जसले कहिल्यै नझुक्ने सपना देखेका थिए, फेरि एकचोटी एउटै टेबुल वरिपरि भेला भए । जेठ १७ गते, काठमाडाैंका सडकमा राजतन्त्र पुनर्स्थापनाकाे नारा र जुलुस चलिरहेकाे थियाे ।  सितापाइला स्थित २०६१ सालका राजाका मन्त्री आर.के. मैनालीकाे निवासमा पुराना क्रान्तिकारीहरूकाे दिवाभाेज भेटघाट चलिरहेकाे थियाे । राजाका मन्त्री  आर.के. मैनालीले केही सन्देश दिन खाेजेका त हाेइनन् ? प्रश्न गर्ने ठाउँ त छ नि । 

आर.के. मैनालीको फेसबुक स्टाटसबाट खुलासा भएको यो दृश्यमा सहभागी थिए–


🔹 आर.के. मैनाली – झापा आन्दोलनका अगुवा र पूर्वमन्त्री


🔹 भिष्म धिमाल – राजनीतिक बन्दी बनेका संघर्षशील नेता


🔹 नारद भारद्वाज – झापा विद्रोहको इतिहासका जीवित पात्र र लेखक


🔹 धनेन्द्र बस्नेत – जनविद्रोहका साक्षी

🔹 नरेश खरेल – तत्कालीन युवा कार्यकर्ता


🔹 ठूलो दुर्गा अधिकारी – संघर्षको मैदानका अविस्मरणीय पात्र


🔹 राधिका मैनाली – ती सबैका लागि आजको दिनकी आतिथ्य र आर.के. मैनालीकी धर्मपत्नी, जसले आफ्नै हातले खाना तयार पारिन्।

राजनीतिक इतिहासको पुनर्मिलन

५४ वर्षअघि उनीहरूले झापाको खेतबारी, जंगल र गोप्य बैठकहरूमा सर्वहाराकाे अधिनायकत्वकाे  नारा दिएर  क्रान्तिको बीउ रोपे। कतिले जेल भोगे, कतिले भूमिगत जीवन बिताए, कतिले समयक्रममा राजनीति त्यागे, र कतिले अझै विचारको झण्डा बोकेर हिँडिरहे। तर, जे भए पनि उनीहरू सबैको साझा चिनारी थियो– 'विद्रोही पीढी'।

 

आजको जमघटमा उनीहरूबीच राजनीति कम, सम्झना धेरै सुनियो। कसरी जंगलमा खाना खाए, कुन समयमा कसरी पुलिसको नजिकबाट बाँच्न सफल भए, अनि कसरी कुनै पनि कुरामा पछुतो छैन भन्ने आत्मसन्तोष । तर, देश र सरकारकाे हालकाे अवस्था देखेर ती रगत उमाल्ने क्रान्तिकारी दिनहरू र प्रतिबद्ध स्मरण गरे ।

 

अनि सम्झिए ५४ वर्ष अघि देश र जनताकाेका लागि खाएकाे कसम !  यो जमघट केवल पुराना मित्रहरूको भेट मात्र थिएन, यो नेपालकाे राजनीतिक यात्राका एक असाधारण अध्यायका साक्षीहरूबीचकाे पुनर्मिलन पनि थियाे ।

सन्देश के हो ?

समय बग्छ, विचार बदलिन्छ, तर संघर्ष र मित्रता कहिल्यै मेटिँदैन । सितापाइलाको त्यो टेबुलले सम्झायो-इतिहासलाई केवल किताबमा होइन, यस्ता भेला र आत्मीयतामा पनि जिउन सकिन्छ।

प्रतिकृया दिनुहोस