१७ जेठ, लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनका लागि बुद्धको दर्शनलाई सबै तहमा कार्यान्वयन गर्नुपर्ने निष्कर्षसहित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन शनिबार सम्पन्न भएको छ।
"समृद्ध प्रदेश, खुसी नागरिक" को लक्ष्यमा बुद्धको अवधारणालाई शासन प्रणालीका विविध आयामहरूसँग जोड्दै कार्यान्वयन गर्नुपर्नेमा सम्मेलनले सर्वसम्मत प्रतिबद्धता व्यक्त गरेको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा सम्पन्न सम्मेलनमा सहभागी सरोकारवालाहरूले ७ बुँदे सामूहिक प्रतिवद्धता पत्र जारी गरेका थिए।
प्रतिवद्धतामा लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटन, पथप्रदर्शन सेवा, पर्यटक सेवा सुविधा, पुरातात्विक पर्यटन स्थलको वातावरण सुधार, सम्पदामैत्री पर्यटन प्रवर्द्धन, लघु व्यवसाय र स्थानीय सीपको संरक्षण, तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा आधारित एकीकृत प्रदेशस्तरीय पर्यटन कार्यविधि तर्जुमा गर्ने उल्लेख छ।
बुद्ध दर्शनमा आधारित आर्थिक खाका बनाइने
लुम्बिनी बौद्ध विश्वविद्यालयका योजना तथा मूल्यांकन महाशाखा निर्देशक डा. कुलप्रसाद खनालले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै प्रदेश सरकारको प्रस्तावित लुम्बिनी क्षेत्र विकास प्राधिकरणसँगको समन्वयमा बौद्ध आर्थिक ढाँचा कार्यान्वयनका विषयगत खाका तयार पारिने जानकारी दिए।
उनले प्रदेशस्तरीय पाठ्यक्रम तर्जुमा गरी विद्यालय शिक्षामा आधारभूत बौद्ध शिक्षा समावेश गरिने र त्यसलाई स्थानीय तहहरूसँगको सहकार्यमा लागू गरिने बताए।
नीतिगत पृष्ठपोषणका लागि सहकार्य
“लुम्बिनी क्षेत्रको आर्थिक–पर्यटकीय विकाससँग सम्बन्धित समसामयिक मुद्दामा विश्वविद्यालय र प्रदेश सरकारको सहकार्यमा सेमिनार, गोष्ठी तथा बौद्ध आध्यात्मिक क्रियाकलाप सञ्चालन गरिनेछ,” प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।
बुद्ध शिक्षा र आर्थिक समृद्धि जोड्नुपर्नेमा जोड
सम्मेलन समापन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बुद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए। उनले समकालीन आर्थिक चुनौती समाधानका लागि बुद्ध दर्शनको व्यवहारिक प्रयोग आवश्यक रहेको बताए।
उनका अनुसार विश्वविद्यालयले बौद्ध आर्थिक अवधारणालाई अनुसन्धान, शिक्षा र विकाससँग जोड्दै लुम्बिनीलाई आध्यात्मिक र समृद्ध आर्थिक गन्तव्य बनाउने दिशामा काम गरिरहेको छ।
आग्रहमन्त्रालयको योजनासहित सहयोगको
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयले विभिन्न योजना अघि बढाएको जानकारी दिँदै सबै पक्षलाई सहकार्य र साझेदारीको आह्वान गरे।
विशेषज्ञहरूका कार्यपत्र र सुझाव
सम्मेलनमा बौद्ध दर्शन, आर्थिक समृद्धि, दिगो पर्यटन, पूर्वाधार विकास, र सहकार्यका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरियो।
प्रमुख वक्तामध्ये डा. प्रकाश कुमार श्रेष्ठ, डा. हरिध्वज राई, डा. रिना तुलाधर, डा. रामराज उपाध्याय, डा. शारदा पौडेल, डा. श्रीप्रसाद भट्टराई, सञ्जय शाक्यलगायतले विभिन्न पक्षमा धारणा राखेका थिए।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पर्यटन व्यवसायी, प्राध्यापक, अनुसन्धानकर्ता र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले बौद्ध मूल्यमा आधारित समावेशी, शान्तिपूर्ण र दिगो आर्थिक विकासको अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।
प्रतिकृया दिनुहोस