• मंगलबार-जेठ-२०-२०८२

नेपाल क्यान्सर सर्भाइभर्स सोसाईटीले मनायो ३८ औं राष्ट्रिय सर्भाइभर्स दिवस 


काठमाडौं । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सरबाट बच्न सफल व्यक्तिहरूको सम्मानमा आइतबार सर्भाइभर्स दिवस विशेष कार्यक्रम मनाएको छ । आज सोसाइटीले एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा कार्यक्रम मनाएको हो ।


सन् १९८७ को नोभेम्बरमा न्यु मेक्सिकोमा आयोजित क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको निर्णयअनुसार १९८८ को जुन ५ मा पहिलो राष्ट्रिय क्यान्सर सर्भाइभर्स दिवस मनाइएको थियो । त्यसयता प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा कायम रहँदै आएको छ । यस वर्ष यो दिवसको ३८औं संस्करण हो ।


कार्यक्रमका क्रममा वरिष्ठ गायिका एवं क्यान्सर सर्भाइभर मिरा राणाको हातबाट साहसी सर्भाइभर तथा साइकल यात्री नमिता बस्नेतलाई सम्मान गरिएको छ । त्यस्तै, क्यान्सर सर्भाइभर्सहरूका लुकेका प्रतिभा उजागर गर्ने प्रस्तुति, जनचेतनामूलक कार्यक्रमहरू, प्रेरणादायी कथाहरूको प्रस्तुति लगायत विविध कार्यक्रमहरू समावेश समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।


नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विद्यालय, कलेज, समुदायस्तरका कार्यक्रम, स्क्रिनिङ क्याम्प, ¥याली, परामर्श सेवा लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । क्यान्सर सर्भाइभरहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयमूलक तालिम, स्वास्थ्य संस्थाहरूसँगको सहकार्य तथा उपचार निःशुल्क तथा सर्वसुलभ बनाउने पहलमा पनि सोसाइटी सक्रिय रहेको जनाएको छ ।


हाल विश्वभर करिब ५ करोड ३५ लाख मानिस क्यान्सरलाई जितेर जीवित रहेका छन् । उनीहरूको जीवनमा अझै पनि विभिन्न चुनौतीहरू रहेको हुँदा समाजमा उनीहरूप्रति सकारात्मक सोच विकास गर्न र क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशाको सन्देश फैलाउन यो दिवसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।


क्यान्सर सम्बन्धी चेतनाको अभावका कारण आजको सूचना प्रविधिको युगमा पनि यो रोग गम्भीर समस्या बनिरहेको छ । यसै सन्दर्भमा सर्भाइभर्स दिवसको अवसरमा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले जनचेतनालाई थप व्यापक बनाउने उद्देश्यले यो दिवस मनाएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस